१००० शैयाको अस्थाई कोभिड अस्पताल बनाइन्छ - प्रधानमन्त्री ओली 

१००० शैयाको अस्थाई कोभिड अस्पताल बनाइन्छ - प्रधानमन्त्री ओली 

२०७८, बैशाख २१ मंगलवार

  • 1.1K
    SHARES

  • १००० शैयाको अस्थाई कोभिड अस्पताल बनाइन्छ - प्रधानमन्त्री ओली 

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी लकडाउन थप कडा पार्नुको विकल्प नरहेको बताएका छन् । 

    उनले सोमवार देशवासीका नाममा सम्बोधन गर्दै अत्यावश्यकबाहेक सबै सरकारी कार्यालय, संघसंस्था वैशाख मसान्तसम्म बन्द रहने बताए । 

    प्रधानमन्त्री ओलीले सोमबार सम्बोधनका क्रममा संक्रमणको साङ्लो चुडाउन अस्पताल वा आइसोलेसन केन्द्रको व्यवस्था गरेर मात्रै नपुग्ने एक हदसम्मको लकडाउन आवश्यक छ भन्ने विज्ञहरूको सल्लाहअनुसार निषेधाज्ञा जारी गरिएको र यसलाई थप कडा पारिने बताएका हुन् । 

    उनले कोरोना महामारीको दोस्रो लहरमा संक्रमणको दर र मृत्युदर गत वर्षको तुलनामा बढी रहेकाले लकडाउन कडा पार्नुको विकल्प नभएको बताए । उनले भने, ‘यसलाई थप कडाइ गरिँदै छ र प्रभावकारी ढंगले लागू गर्न पहिले झैं सबैबाट सहयोग हुने अपेक्षा सरकारले राखेको छ ।’ 

    उनले वैशाख २० गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म आन्तरिक उडान र वैशाख २३ गते राति १२ बजेदेखि वैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने निर्णय गरिएको जानकारी पनि दिए । 

    नेपाली नागरिकको प्रवेशका लागि नेपाल–भारतबीच रहेका सीमा नाकामध्ये १३ नाका मात्र सञ्‍चालनमा ल्याइएको जानकारी दिँदै उहाँले आपूर्ति व्यवस्था प्रभावित नहुने गरी सोसँग सम्बन्धित ढुवानीका साधन भने यथावत् सञ्‍चालन हुने व्यवस्था मिलाइएको बताए । 

    भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्र सीमा प्रवेश गर्ने व्यवस्था मिलाइनुका साथै सबै तहमा कन्ट्याक्ट ट्रेसिङ बढाउन लगाइएको पनि उनले बताए ।

    उनले प्रत्येक स्थानीय निकायले नेपाल बाहिरबाट आउने व्यक्तिको अभिलेख राखी क्वारेन्टिन, आइसोलेसन तथा उपचारको व्यवस्था गर्ने र घर तथा संस्थागत आइसोलेसनको नियमित अनुगमन गर्ने प्रबन्ध गरिएको पनि बताए । 

    प्रधानमन्त्री ओलीले कुनै पनि नागरिक स्वास्थ्य सुविधाबाट वञ्चित हुनु नपरोस् र महामारीका कारण कसैले जीवन गुमाउनु नपरोस् भन्‍नेमा सरकार संवेदनशील रहेको बताए ।

    नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको उल्लेख गर्दै उनले भने, ‘महामारीको दोस्रो लहरको रोकथाम र नियन्‍त्रणका लागि सरकारका सबै संयन्‍त्र परिचालित छन् । संघ‍, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक रुपमा काम भइरहेको छ ।’

    सम्बोधनमा प्रधानमन्त्री ओलीले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा शीघ्र १ हजार शै‍य्याको अस्थायी अस्पताल निर्माण गर्न निर्देशन दिइएको, वीर अस्पतालको नयाँ भवन र नेपाली सेनाको त्रि–चन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शैय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्‍चालन गरिने बताए । 

    त्यसै गरी उनले प्रदेश सरकारले पनि उक्त प्रदेशमा रहेका मेडिकल कलेज तथा ठूला अस्पताललाई कोभिड अस्पतालका रूपमा र साना अस्पताललाई नन–कोभिड अस्पतालका रूपमा सञ्‍चालन गर्नुपर्ने जिकिर गरे । 

    २०७८, बैशाख २१ मंगलवार०७:५१:५५
    प्रतिक्रिया
    सम्बन्धित समाचार