भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

२०७८, बैशाख २५ शनिवार

  • 1.8K
    SHARES

  • भारतमा एकै दिन चार लाख बढी संक्रमित, चार हजार भन्दा बढीको मृत्यु

    नयाँ दिल्ली । कोरोनाभाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरको सङ्कट व्यहोरिरहेको भारतमा विगत २४ घण्टाको अवधिमा चार लाख नयाँ सङ्क्रमित फेला परेका छन् ।

    भारतमा यो सहित कूल संक्रमितको संख्या दुई करोड १८ लाख ९२ पुगेको छ । भारतमा लगातार तेस्रो दिन चार लाखभन्दा बढी व्यक्तिमा संक्रमण देखिएको छ । 

    भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा थप चार हजार १८७ जनाको कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको छ । यो सहित भारतमा कोभिडको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या दुई लाख ३८ हजार २७० पुगेको हो । 

    हाल विश्वमै कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाउनेको संख्या संयुक्तराज्य अमेरिका र ब्राजिलपछि भारत तेस्रो स्थानमा छ । संयुक्तराज्य अमेरिकामा पाँच लाख ९४ हजार तथा ब्राजिलमा चार लाख १९ हजारको ज्यान गइसकेको छ । 

    भारतमा अझै पनि ३७ लाख २३ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा छन् । मन्त्रालयका अनुसार हालसम्म एक करोड ७९ लाख ३१ हजार व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् ।

    भारतमा कोभिड–१९ को दोस्रो लहरका कारण जनजीवन अस्तव्यस्त भए पनि भारत सरकारले देशव्यापी पूर्ण लकडाउन नगर्ने बताएको छ ।

    कतिपय भारतीय राज्यहरुमा रात्रिकालीन निषेधाज्ञा वा आंशिक लकडाउन गरिएको छ । राजधानी नयाँ दिल्लीमा आगामी मे १० सम्मका लागि लकडाउन गरिएको छ । 

    गत जनवरीमा देशव्यापी खोप अभियान सञ्चालन गरिएको भारतमा हालसम्म करिब १६ करोड ७४ लाख व्यक्तिलाई कोभिड–१९ को खोप दिइसकिएको छ ।

    अठार वर्षभन्दा माथिका व्यक्तिका लागि गत मे १ तारिखबाट खोप अभियान शुरु भइसकेको छ ।यसैबीच, बिहीबारसम्म भारतमा कोभिड–१९ को ३० करोड नमुना परीक्षण गरिएको छ ।

    शुक्रबार एकै दिन १८ लाख  नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । -एजेन्सी

    २०७८, बैशाख २५ शनिवार०१:४६:२३
    प्रतिक्रिया
    सम्बन्धित समाचार