काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणमा किर्तिमान राख्न सफल कामिरिता शेर्पालाई सगरमाथा आरोही संघका कार्यवाहक अध्यक्ष दिवस पोखरेलले बधाई ज्ञापन गरेका छन् ।
हिमसमराट उपनाम पाएका शेर्पाले २०७८ वैशाख २४ गते शुक्रवार साँझ ६ः०० बजे २५औं पटक पुनः विश्व किर्तिमान रचेका छन् ।
"कोभिड महामारीमा पनि संसारलाई उत्साह छर्दै कामिरिता सहित एक दर्जन भन्दा बढि आरोहिहरुको सफल आरोहणले विश्वजगतलाई थप उर्जा दिएको छ । यस अवस्थामा उनीहरु अत्यन्तै मिठो धन्यवादका हकदार र बधाईका पात्र छन्", पोखरेलले भनेका छन् ।
यस वसन्त ऋृतुमा सगरमाथाको सफल आरोहण गर्ने दलमा ५१ वर्षीय कामिरिता पहिलो हुन् । वि.सं.२०५१ मा २४ वर्षको उमेरमै उनले पहिलो पटक सगरमाथा शिखर चुमेका थिए ।
उनका बाबु मिंग्मा छिरि शेर्पा पहिलो सगरमाथा चढ्ने महामानव तेन्जिंग नोर्गे शेर्पाका आरोहीदलका सदस्य थिए ।
उनका परिवारमा श्रीमती लाक्पा जांग्मु र दुई सन्तान छन् ।
