काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगहरूमा रिक्त रहेका पदमा विभिन्न नियुक्तिका लागि सिफारिस गरेको छ ।
"संवैधानिक परिषद्ले सबै संवैधानिक आयोगका रिक्त स्थानमा पदपूर्ति गर्ने निर्णय गर्यो," राष्ट्रीय सभा अध्यक्ष गणेश तिम्सिनाले बीबीसीलाई बताए ।
उनका अनुसार आइतवारको निर्णयसँगै अब कुनै पनि संवैधानिक निकायमा पदपूर्तिका लागि नाम सिफारिस गर्न बाँकी छैन।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहने प्रावधान छ।
तर यो बैठकमा सभामुख अग्नि सापकोटा र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा सहभागी भएनन्। पदेन सदस्यमध्ये बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र तिम्सिना उपस्थित थिए।
परिषद्का अध्यक्ष प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको बैठकले बहुमत सदस्यको उपस्थितिका आधारमा निर्णय लिन सक्ने अध्यादेश जारी भइसकेको छ।
काङ्ग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको विषयमा विमति व्यक्त गरिरहेको छ।
नेकपा माओवादी र सत्तारूढ एमालेको माधव नेपाल झलनाथ खनाल पक्षधर नेताहरूले पनि बैठक बोलाइएकोमा आपत्ति जनाएका थिए।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा वैशाख २७ गते विश्वासको मत लिन लागेका छन्।
नेकपा माओवादीले ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।