काठमाडौं । जनता समाजवादी पार्टी जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतमा पार्टीका तर्फबाट ह्विप जारी नगर्ने बताएको छ ।
आइतवार पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई निवास टोखामा बसेको बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतहाल्ने निर्णय गर्न नसके पछि मध्यमार्गी बाटो अवलम्बन गरिएको हो ।
बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले विश्वासको विपक्षमा मत हाल्नुपर्ने बताए भने नेता महन्थ ठाकुर र राजेन्द्र महतोले तटस्थ बस्नु पर्ने प्रस्ताव अघि सारेका थिए ।
कार्यकारिणी समितिको बैठकमा भट्टराई-यादव पक्षमा बहुमत रहेपछि ठाकुर-महतोले तटस्थ बस्ने प्रस्ताव अगाडि बढाए पनि निष्कर्षमा सांसदलाई स्वविवेकमा छोडिदिने र ह्विप नलगाउन सहमति भएको हो ।
अब जसपा भट्टराई -यादव पक्षका सांसदले ओलीको विपक्षमा मत हाल्ने छन् भने ठाकुर -महतो पक्षधरले स्वविवेक प्रयोग गर्न पाउने भएका छन् ।
प्रतिनिधिसभाको विशेष अधिवेशन भोलि बस्ने छ ।