काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका असन्तुष्ट सांसदलाई हतारोमा कुनै पनि अनुचित निर्णय नगर्न आग्रह गरेका छन् ।
विश्वासको मत लिने सन्निकटको अवस्थामा पनि भड्किएर हिँडेका सांसदलाई बसेर छलफल गर्न र समस्या समाधान गर्न पनि ओलीले आह्वान गरेका छन् ।
आन्तरिक मतभेद वा असन्तुष्टिलाई आपसी छलफलबाट समाधान गर्न सकिने ओलीको भनाइ छ ।
सोमबार बिहान ट्वीट गर्दै ओलीले भनेका छन्, ‘हतारोमा कुनै पनि अनुचित निर्णयमा जान वाञ्छनीय नहुने कुरामा म सबै माननीयज्यूहरूको ध्यानाकर्षण गराउन चाहन्छु । आउनुस्, केही समस्या भए सँगै बसौं, छलफल गरौं र समाधान गरौं ।’
आज बिहान मात्र माधव नेपाल पक्षका सांसदहरुको बैठकले भने प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।
संसद बैठक सोमबार दिउँसो एक बजे बोलाइएको छ ।