काठमाडौं । पछिल्लो समय विश्वमा क्रिप्टोकरेन्सी लोकप्रिय हुँदै गएको छ । निकैपछि मात्र प्रयोगमा आएको क्रिप्टोकरेन्सीको मूल्य तीव्र रुपमा वृद्धि भइरहेको छ ।
क्रिप्टोकरेन्सी विनिमयको आधुनिक माध्यम हो । सामान्य भाषामा यसलाई क्रिप्टोग्राफीको सिद्धान्तमा आधारित पूर्ण रुपमा विकेन्द्रित पियर–टु–पियर भर्चुअल÷डिजिटल वा विद्युतिय मुद्रा भन्न सकिन्छ ।
मानिसले प्रयोग गर्दै आएको सिक्का वा नोटजस्तो क्रिप्टोकरेन्सीको कुनै भौतिक अस्तित्व हुँदैन । बिटक्वाइन, इथेरियम, लाइटक्वाइन, डोजेक्वाइन, पाई आदि क्रिप्टोकरेन्सीका केही उदाहरण हुन् । विश्वमा अहिले ६ हजार ७०० भन्दा धेरै क्रिप्टोकरेन्सीहरु औपचारिक रुपमा कारोबार भइरहेका छन् ।
सन् २०२१ मार्चसम्मको तथ्यांकअनुसार समग्र क्रिप्टोकरेन्सीको बजार पुँजीकरण २० खर्ब डलरभन्दा धेरै छ । यसमा बिटक्वाइनको मात्र पुँजीकरण १० खर्ब डलर बढी छ ।
क्रिप्टोकरेन्सीको इतिहास
सन् १९८३ मा अमेरिकी क्रिप्टोग्राफर डेभिड चोमले ई–क्यास नामक क्रिप्टोग्राफिक प्रणालीको विकास गरे । त्यसको १२ वर्षपछि उनले नै आर्थिक कारोबारको गोप्यता कायम राख्न सकिने गरी क्रिप्टोग्राफीको प्रयोग गरी डिजिक्यास नामक भुक्तानी प्रणालीको विकास गरे ।
क्रिप्टोकरेन्सी शब्द भने सन् १९९८ मा वेइ डाइ नामक कम्प्युटर वैज्ञानिकले प्रचलनमा ल्याएका हुन् । पहिलो क्रिप्टोकरेन्सी बिटक्वाइनको सुरुवात सन् २००९ मा सातोसी नाकामोतो(छद्म) नाम गरेका व्यक्ति वा समूहले गरेको हो ।
सन् २००८ को आर्थिक मन्दीका कारण नाकामोतोले कुनै निश्चित वित्तीय संस्था वा सरकारको नियन्त्रण नरहने परिकल्पना गरी बिटक्वाइन बनाएका थिए । सन् २००९ मा उक्त नामबाट जारी श्वेतपत्रमा बिटक्वाइन र ब्लकचेनको आधारहरुको व्याख्या गरिएको थियो ।
यसरी गर्छ काम
अधिकांश क्रिप्टोकरेन्सीले ब्लकचेनको प्रविधिअनुसार काम गर्छन् । ब्लकचेन सूचनाहरुको रेकर्ड गर्ने विकेन्द्रित प्रणाली हो, जसले सूचनाहरु परिवर्तन वा ह्याक गर्न असम्भवजस्तै बनाइदिन्छ । यसलाई कारोबारहरुको डिजिटल खाता पनि भन्न सकिन्छ । यो प्रविधिले विकेन्द्रित प्रणालीमार्फत काम गर्ने भएकाले यसमा कुनै बैंक, सरकार वा समूहको नियन्त्रण वा निगरानी हुँदैन ।
यो प्रविधिले हरेक कारोबारको सूचना उक्त कम्प्युटर नेटवर्कमा जोडिएका प्रत्येक ‘नोड’ वा सदस्यलाई वितरण गर्छ । अर्थात् एउटा चेनको एउटा ब्लक मात्र परिवर्तन गरियो भने पनि त्यसको जानकारी सबै सदस्यलाई हुन्छ । यदि, ह्याकरले एउटा ब्लकचेन सिस्टम ह्याक गर्न खोज्छ भने उसले उक्त सिस्टमको प्रत्येक ब्लक एकैपटक ह्याक गर्नुपर्ने हुन्छ, जसलाई असम्भव मानिएको छ । यसैले पनि ब्लकचेन प्रविधि र क्रिप्टोकरेन्सीलाई पारदर्शी र सुरक्षित मान्ने गरिएको छ ।
वैधताको प्रश्न
विश्वका धेरै विकसित देशहरुले आधिकारिक रुपमा क्रिप्टोकरेन्सीको प्रयोगलाई अनुमति दिए पनि धेरै देशहरुमा यसलाई गैरकानुनी मानिएको छ । नेपाल, भारत, चीन, बंगलादेश, बोलिभिया, इक्वेडर, भियतनामजस्ता देशमा डिजिटल मुद्राको प्रयोगमा रोक लगाइएको छ । यो मुद्राको अस्थिरता, विकेन्द्रिकृत प्रणालीजस्ता कारणहरुले धेरै देशहरुले यसलाई अनुमति दिएका छैनन् ।
क्रिप्टोकरेन्सीको प्रयोग हतियार र लागुऔषध कारोबार, मुद्रा निर्मलीकरणजस्ता गैरकानुनी काममा समेत प्रयोग भइरहेकाले पनि यो मुद्रालाई लिएर धेरै देशहरु चिन्तित छन् । यसका अलावा क्रिप्टोकरेन्सीको प्रयोगबाट हुने कारोबारहरुमा सरकारलाई कर तिर्नु नपर्ने भएकाले यसले सरकारको आयमा प्रत्यक्ष प्रभाव पार्छ । साथै, धेरै मानिसले क्रिप्टोकरेन्सीमा लगानी गर्दा देशको ठूलो रकम विदेश जाने सम्भावना पनि हुन्छ ।
नेपालमा क्रिप्टोकरेन्सी नियमन गर्ने कानुन नभए पनि नेपाल राष्ट्र बैंकले २०७४ साउन २९ गते एक सूचना जारी गर्दै नेपालमा बिटक्वाइन कारोबारलाई गैरकानुनी घोषित गरेको छ । –एजेन्सीहरुको सहयोगमा ।