काठमाडौं । राष्ट्रपति कार्यालयले बहुमतीय सरकारका लागि तोकिएको समयमा कसैले दावी पेश नगरेको बताएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतको सरकार गठनका लागि राष्ट्रपति भण्डारीले दिएको बिहीबार राति ९ बजेसम्म कसैको पनि दावी नपरेको बताएका छन् ।
प्रवक्ताले विज्ञप्ति जारी गर्दै संविधानको धारा ७६ (२) अनुसारका लागि समसीमाभित्र कसैको पनि दाबी पेस नभएको बताए ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
यस अघि सरकार बनाउन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले पहल गरे पनि निर्णाएक मानिएको जनता समाजवादी पार्टी र नेकपा एमाले भित्रको माधव नेपाल समूह तयार नहुँदा कांग्रेस गठबन्धनको सरकार बन्ने सम्भावना टरेको हो ।
यद्यपि नेकपा एमाले एकतृत गरेर जनता समाजवादी पार्टी मिलाएर थप दुई वर्षे कार्यकालका लागि बहुमतीय सरकार बन्ने सम्भावना ओली सहितको समूहलाई भए पनि सो सम्भावना पनि टरेर गएको छ ।
अब राष्ट्रपतिले संविधानको धारा ७६ (३) बमोजिम संसदको ठूलो दल भएका कारण नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्नुहुने छ ।