काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणको कारण अभाव भएको अक्सिजन भनसुनको आधारमा नभई आवश्यकताका आधारमा दिनका लागि निर्देशन दिएका छन्।
प्रधानमन्त्री पदको सपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पदभार ग्रहण गर्दै नवनियुक्त प्रधानमन्त्री ओलीले कोरोना संक्रमणका लागि सरकारले सबै संयन्त्रको परिचालन गर्ने बताउँदै भने,‘अक्सिजन भनसुनको आधारमा हैन, बिरामीको आवश्यकताका आधारमा दिनुपर्छ।’
उनले आफू नेतृत्वको सरकार देश र जनताप्रति दृढ वफादार रहँदै कोरोना नियन्त्रण गरि जनताको जीवन बचाउने एक शुत्रिय एजेण्डामा काम गर्ने बताए ।
'हाम्रा कुनै पनि अक्सिजन उत्पादन गर्ने कारखाना पूर्ण रुपमा चल्नुपर्छ, यसकारण चलेन भन्न पाइँदैन,’ उनले भने।
देशमा अस्थिरता चाहने तत्वहरुले सरकार बनाउन नसक्नु र अरुले सरकार गठन गर्नुलाई पनि प्रतिगमन भएको भन्ने गरेको भन्दै प्रतिगमन भयो भनेर भ्रम फैलाउनेहरु नक्कली र तथाकथित क्रान्तिकारी भएको बताए।
त्यसै गरि उपप्रधानमन्त्री इश्वर पोखरेलले कोभिड नियन्त्रणका लागि सम्पूर्ण शक्ति परिचालन गरिने बताएका छन् ।