काठमाडौं । चीन सरकारले अनुदानमा दिएको १८ हजार अक्सिजन सिलिण्डर तातोपानी नाका आइपुगेको छ । २० हजार थान सिलिण्डर मध्ये ४०० थान यस अघि नै फ्लाईटबाट काठमाडौं आईपुगेको छ ।
नाकासम्म आइपुगेको अक्सिजन सिलिण्डरलाई काठमाडौं ल्याउने तयारी भइरहेको उपप्रधानमन्त्री तथा सिसिएमसीका संयोजक ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
बाँकी १६ सय अक्सिजन सिलिण्डर फ्लाइटबाट नेपाल आउँदैछ । त्यस्तै मस्कटबाट पनि ५६० वटा अक्सिजन सिलिण्डर नेपाल आइसकेको छ ।
कोरोना संक्रमण बढिरहेको र हस्पिटलहरुमा अक्सिजन अभाव भइरहेको सन्दर्भमा सरकारले चीन लगायतका देशबाट अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामग्री आयातलाई प्राथमिकतामा राखेको छ ।
हस्पिटलहरुमा अक्सिजन र बेड अभाव हुन नदिन सिसिएमसी संयोजक पोखरेलको नेतृत्वमा सरोकारवालासँग निरन्तर छलफल भइरहेको पाण्डेले जानकारी दिए ।
सरकार गठन भए सँगै कोभिड विरुद्धको अभियानमा केन्द्रीत हुने उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताउँदै आएका छन् ।