राष्ट्रियसभा सदस्य निर्वाचन मतदान बिहीबार हुँदै

राष्ट्रियसभा सदस्य निर्वाचन मतदान बिहीबार हुँदै

२०७८, जेठ ५ बुधवार

  • 1.5K
    SHARES

  • राष्ट्रियसभा सदस्य निर्वाचन मतदान बिहीबार हुँदै

    काठमाडौँ । वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा  बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ ।

    उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउने सन्दर्भमा शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको छ ।

    निर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११०  र  प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८  मतदाता  कायम रहेको  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
     
    मतदाताको निर्वाचकमण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअनुरुप हुने निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ ।

    आयोगले सबै मतदातालाई  मतदानमा सहभागी हुन  अनुरोध गरेको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आचारसंहितानुसार यही जेठ ३ गते राति १२ बजेपछि मौनअवधि शुरु भइसकेको छ ।

    निर्वाचन आचारसंहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई कानूनबमोजिम कारवाही गर्न सकिने र आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राखिने जनाइएको छ ।  निर्वाचन आचारसंहिता एक कानूनी आधार र नैतिक बन्धन भएकाले सोको पालना गरी निर्वाचन निष्पक्ष ढंगबाट सञ्चालन गर्ने कार्यमा सहयोग पु-याउन आयोगले सबैमा आग्रह गरेको छ ।

    जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले मतदाताको बसोबास र मतदान व्यवस्थापन  स्वास्थ्य सुरक्षा मापदण्डका आधारमा प्रबन्ध मिलाइएको जानकारी दिएको छ । हेटाँैडा नगरपालिका– ४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा कायम गरिएको तीन  केन्द्रमा मतदान हुनेछ ।

    केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र  कोभिड संक्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइने छ ।

    उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी भएका मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्रलगायत कागजात देखाएर मतदान गर्न सकिने व्यवस्था गरिएको छ  ।

    निर्वाचकमण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सक्ने छन् ।

    स्थानीय तह निर्वाचन, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र, नागरिकता प्रमाणपत्र र  राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न सकिने  आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
     
    निर्वाचकमण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाएर यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन  पनि दिएको छ ।

    यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले निर्वाचनमा नेकपा (एमाले)का उम्मेदवारलाई मदान गर्ने निर्णय गरेको छ । एमालेका उम्मेदवार रामबहादुर थापाका पक्षमा मतदान गर्न राप्रपाले मतदातालाई विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    २०७८, जेठ ५ बुधवार०३:४४:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार