भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु

भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु

२०७८, जेठ १६ आइतवार

  • 1.6K
    SHARES

  • भारतमा कोभिड–१९ संक्रमितको संख्यामा व्यापक गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु

    नयाँ दिल्ली ।  कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट प्रभावित भारतमा विगत २४ घण्टाको अवधिमा संक्रमितको संख्यामा व्यापक गिरावट आएको छ । 

    गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

    यो सहित भारतमा आइतबारसम्म कूल संक्रमितको संख्या दुई करोड ७९ लाख पुगेको छ । र सक्रिय संक्रमितको संख्या भारतमा अझै २१ लाख १४ हजार रहेको छ ।

    विगत २४ घण्टामा एक लाख १४ हजारले सक्रिय संक्रमितको संख्यामा कमी आएको पनि मन्त्रालयले जनाएको छ ।भारतमा हालसम्म दुई करोड ५५ लाख व्यक्ति कोभिड–१९ बाट संक्रमणमुक्त भएका छन् । 

    तर भारतमा कोभिड–१९ को संक्रमणबाट भइरहेको दैनिक मृत्यु दरमा सामान्य गिरावट आए पनि तिब्र सुधार हुन सकेको छैन । मन्त्रालयका अनुसार भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ४६० जनाको ज्यान गएको छ । यो सहित भारतमा कूल मृतकको संख्या तीन लाख २५ हजार ९७२ पुगिसकेको छ । 

    कोरोनाभाइरस महामारीबाट आम जनतालाई सुरक्षित राख्न गत जनवरीदेखि नै खोप अभियान सञ्चालन गरेको भारतले देशभर हालसम्म २१ करोड २० लाख डोज खोप लगाएको छ । शनिबार एकै दिन भारतमा ३० लाख भन्दा बढी व्यक्तिलाई खोप दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

    भारतले हाल १८ वर्षभन्दा माथिको उमेर समूहका सबै व्यक्तिलाई खोप दिइरहेको छ । तर खोपको माग तिब्र भए पनि आपूर्ति त्यस अनुरुप हुन नसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

    यसैबीच, भारत सरकारले देशभर कोभिड–१९ को परीक्षणलाई तिब्र बनाएको छ । शनिबारसम्म भारतमा ३४ करोड ३२ लाख नमुना परीक्षण गरिएको छ जसमध्ये शनिबार एकै दिन २० लाख ६३ हजार नमुना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ । 

    भारतमा हाल तीन किसिमका खोप प्रयोगमा ल्याइएको छ । भारत सरकारले सेरम इन्स्टिच्यूटले उत्पादन गरिरहेको कोभिसिल्ड, कोभ्याक्सिन र रसिया–निर्मित स्पुतनिक भी खोपलाई प्रयोगका लागि अनुमति दिएको छ । 

    कतिपय राज्यमा भारत सरकारले निःशुल्क खोपको व्यवस्था गर्नुका साथै निजी संस्थाबाट खोप बिक्रीका लागि अनुमति दिएको छ । -एजेन्सी

    २०७८, जेठ १६ आइतवार१२:४५:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार