काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको १२ औंँ अध्यक्षमा किरण पौडेल चयन भएका छन् ।
जेठ १६ -१७ गते भर्चुअल माध्यमबाट बसेको सचिवालय बैठकले संघको पुर्व सहमति अनुसार किरण पौडेललाई अध्यक्षमा चयन गरेको हो ।
सोमवार बैठकको समापन कार्यक्रममा बोल्दै निवर्तमान अध्यक्ष वचन बहादुर सिंहले किरण पौडेललाई नेतृत्व हस्तान्तरण गरेका हुन् ।
सिंहले २०७७ माघ २५-२६ मा भएको भेलाबाट नेतृत्वको जिम्मेवारी लिँदाकै बखत २०७८ जेठ १६ गते तत्कालिन सह अध्यक्षका रुपमा रहेका पौडेललाई नेतृत्व हस्तान्तरण गर्ने सहमति भएको थियो । यस सँगै ५ महिने कार्यकाल सिंहले पुरा गरेका छन् भने पौडेलले महाधिवेशनबाट नयाँ नेतृत्व हस्तान्तरण गर्ने गरि कार्यकाल शुरुवात गरेका छन् ।
नेकपा एमालेको जनवर्गीय संगठन मध्ये लोकप्रिय संगठनको प्रथम अध्यक्ष नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली हुन् । केपी शर्मा ओलीबाट शुरुवात भएको संघको नेतृत्वमा यस अघि ११ जना नेताले जिम्मेवारी पुरा गरिसकेका छन् ।
विसं.२०६७ लाहानमा सम्पन्न संघको सातौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित पौडेलले २०७० साल बुटवलमा सम्पन्न आठौं महाधिवेशनबाट लोकप्रिय मतसहित सचिवमा निर्वाचित भएका थिए ।
त्यस यता संघले भेलाबाट नेतृत्व चयन गर्दै आएको छ । महासचिव, उपाध्यक्ष, सहअध्यक्ष हुँदै आजबाट औपचारिक रुपमा पौडेलले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।
प्रविधिमा रुची राख्ने पौडेल आफ्नो कार्याकालमा युवालाई रचनात्मक ढंगले अगाडि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।