लहान । सरकारले २०७१ सालमै चुरे संरक्षण क्षेत्र कायम गरेर सो क्षेत्रबाट ढुंगा, बालुवा, गिटी निकाल्न कानुनी रूपमा रोक लगाएको थियो। शनिबार सरकारले बजेट भाषणमार्फत व्यापार घाटा कम गर्न निकासी खुलाउने भनेको छ। यसले सबैभन्दा बढी मारमा मधेस क्षेत्र पर्ने देखिन्छ।
पूर्वको इलामदेखि पश्चिम कञ्चनपुरसम्मका ३६ जिल्लामा फैलिएको चुरे १ सय ६४ वटा खोलाको मुहान हो। अन्य खोलानदीको तुलनामा चुरेबाट बग्ने खोला बढी विनाशकारी हुने विज्ञहरूको भनाइ छ। चुरेले नेपालको कुल क्षेत्रफलको १२.७८ प्रतिशत भूभाग ओगटेको छ।
‘निकासी खुला नगरिँदै त चुरे क्षेत्रमा दोहनको अवस्था उदेकलाग्दो छ,’ धनुषाका चुरे अभियन्ता कृष्णकुमार राउत भन्छन्, ‘निकासी खुला गरिदियो भने त बेलगाम विनाशलीला हुन्छ।
अहिलेको चुरे दोहनले खोलाहरूको धार परिवर्तन हुँदा खेत कटान, बाढीपहिरोको जोखिम बढ्दो छ। झन् निकासी खुल्दा कहालीलाग्दो अवस्था आउने निश्चित छ।’ यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।
चुरे पहाडबाट बगेर आउने भललाई डेढ दशकअघिसम्म मधेसमा उब्जनी बढाउने पानी मानिन्थ्यो। चुरेबाट बगेर आउने पाँगो माटोले तराईलाई उर्वर बनाउँथ्यो। अहिले भलपानीले पाँगो माटो होइन, बालुवा र गेग्र्यान बोक्छ, जसले तराईमधेसमा हराभरा बनाउन होइन, उजाड बनाउन मद्दत गरिरहेको छ।
त्यसले मरुभूमीकरण र डुबानको समस्या दिनदिनै थपिरहेको छ। बाढीले खेतमा बालुवा बिसाउँदै अघि बढ्दा लहलाउँदो अन्नबाली सखाप भएर मधेस बर्सेनि खडरीको मार झेल्न बाध्य हुँदै आएको छ।