डा. विप्लव कविता : तिनीहरू कहाँ गए ?

डा. विप्लव कविता : तिनीहरू कहाँ गए ?

२०७८, जेठ १९ बुधवार

  • 1.9K
    SHARES

  • डा. विप्लव कविता : तिनीहरू कहाँ गए ?

    काठमाडौं । 
    स्कुल बसहरू कहाँ गए ? 
    सपना पुछेर घाटमा उभिएका 
    कलिला शिशुहरू कहाँ गए ? 
    अस्पतालबाहिर—  
    एम्बुलेन्सको साइरन मात्र रुँदै छ,   
    बिरामीहरू कहाँ गए ? 
    मसानघाटतिर—  

    रित्तै दौडिँदै छन् शववाहनहरू,  
    मलामीहरू कहाँ गए ? 
    निःशब्द मत्युशय्यामा 
    आफै हिँडेर पुगेका छन् लासहरू ! 
    आफ्नै चितामा दागबत्ती दिएर 
    बिदा भएका छन् इतिहासहरू !   
    श्रद्धाका फूल चढाउने 
    अँजुलीहरू कहाँ गए ? 

    तिमीले जुनीभर खोजेका 
    बिहानीहरू कहाँ गए ? 
    निर्जन बस्ती जलेका 
    खरानीहरू कहाँ गए ? 
    तिम्रो आँखामा बलेका 
    साँझबत्तीहरू कहाँ गए ? 
    दुश्मन जस्ता छन् प्रियजनहरू !  
    प्रियजन जस्ता छन् दुश्मनहरू ! 

    सिङको श्रीपेच पहिरिएका 
    यमराज जस्ता छन् शासकहरू !  
    हिजो सँगसँगै हिँडेका—  
    सहयात्रीहरू कहाँ गए ?   
    धर्तीको धमनीभित्र 
    रक्तकण जमेको हेर ! 
    अक्सिजन सिलिन्डरभित्र 
    अश्रुग्याँस भरेको हेर !  
    ज्ञानीहरू कहाँ गए ? विज्ञानीहरू कहाँ गए ? 
    मृत्युको परेला पुछ्ने अज्ञानीहरू कहाँ गए ? 

    ******

    (-रचनाकार डा.ढकाल त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।)

    २०७८, जेठ १९ बुधवार१२:३९:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार