काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड-१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् ।
अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड-१९ पराजित गर्दै सहज अवस्थामा फर्कन सरकारले सबै सामर्थ्य लगाउने बताए ।
उनले कोभिड-१९ ले सिर्जना गरेको प्रतिकूलतालाई हटाउँदै आर्थिक पुनरुत्थान र पूर्व निर्धारित समयमा निर्वाचन गराउने अभिभारालाई पुरा गर्ने बताए ।
पदबहालीका क्रममा उपप्रधान तथा अर्थमन्त्री पौडेलले सल्यान अस्पतालमा अक्सिजन प्लान्ट स्थापना र एचडियु जडान तथा रोल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने सहमति दिने सम्बन्धी निर्णयलाई स्वीकृत गरेका छन् ।
जसमा सल्यान अस्पताललाई १ करोड ५५ लाख र रोल्पा अस्पतालका लागि ७५ लाख रुपैयाँ रहेको छ ।
विषयका हिसाबले पौडेल अर्थशास्त्री नभएता पनि अर्थशास्त्रलाई सहि ढंगले बुझने राजनीतिज्ञमा पर्ने विज्ञहरुको धारणा छ ।
उनी अर्थमन्त्री भएसँगै अर्थ चलायमान गर्ने पुँजीबजार नेप्से ३ हजार अंक नजिक पुगेको छ भने उनले प्रस्तुत गरेको बजेटले विपक्षीलाई हायलकायल पारिदिएको छ ।
उनको बजेटले यति लोकप्रियता पायो की पुर्व अर्थमन्त्री भरतमोहन अधिकारीले २०५१ सालमा प्रस्तुत गरेको बजेटलाई समेत छाँयामा पारिदिएको छ ।
पौडेलले अर्थमन्त्रीबाट उपप्रधानमन्त्रीमा बढुवा हुँदै उत्कृष्ट कमव्याक समेत गरेका छन् । त्यसै गरि समकक्षी एवं पार्टी महासचिव इश्वर पोखरेल सरकारबाट बाहिरिएका छन् ।
पोखरेल विभिन्न मुद्धामा विवादमा परे पनि पौडेल भने निश्कलंक मानिन्छन् । अब अर्थ मन्त्रालय सहित उनै पोखरेलको जिम्मेवारी पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदान गरेको बुझिएको छ ।