कपन । बूढानीलकण्ठ नगरपालिकाले आज एक हजार ९०८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ ।
तिनमा महिला ९९६ र पुरुष ९१२ छन् । चाइनिज भेरोसेल खोप आवश्यक मात्रामा आपूर्ति हुन नसकेपछि बिहीबार हुने कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिए ।
मङ्गलबारदेखि शुरु भएको खोप कार्यक्रममा सो दिन एक हजार ४०९ जनाले लगाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंँले माग अनुसारको खोप उपलब्ध गराउन नसकेपछि यही जेठ २७ गतेको निर्धारित खोप कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ को बैठकले जेठ २५ देखि २७ गतेसम्म ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा दिइने निर्णय गरेको थियो ।
सोहीअनुरूप बूढानीलकण्ठ नगरपालिकाले तीन केन्द्रबाट सोमबार, मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन गरेको थियो ।
नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख दाहालका अनुसार वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं. ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल, मण्डिखाटार र वडा नं १० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयको खोप केन्द्रबाट दुई दिनमा ९९६ पुरुष र ९१२ महिलालाई खोपको पहिलो मात्रा उपलब्ध गराइएको छ ।
खोपको आवश्यक कति मात्रा उपलब्ध हुन नसकेको हो भन्नेबारे भने नगरपालिकाले केही प्रष्ट पारेको छैन ।
यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो ।
आफ्नै देशभित्र फैलिएको महामारीका कारण भारतले यो खोपको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिने समयसीमा घर्किनै लाग्दा पनि अन्योल यथावत् छ ।