तथ्यांकमा जति घटेको छैन संक्रमण

तथ्यांकमा जति घटेको छैन संक्रमण

२०७८, आषाढ १ मंगलवार

  • 1.1K
    SHARES

  • तथ्यांकमा जति घटेको छैन संक्रमण

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा कोरोना संक्रमितको संख्या दैनिक घटिरहेको देखिए पनि वास्तविकता त्यस्तो नरहेको सरोकारवालाले औंल्याएका छन्।

    धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा विराज कर्माचार्यले कोरोना संक्रमण घट्दो क्रममा रहे पनि देखिएजति दरमा नघटेको बताए । ‘समुदायमा संक्रमण दर बढी छ’, उनले भने । 

    कर्माचार्यका अनुसार अहिले परीक्षण संख्या कम रहेकाले समुदायमा भएभन्दा कम संक्रमणदर देखिएको हो। उनी भन्छन्, ‘अहिले न कन्ट्याक्ट ट्रेसिङ छ न समुदायमा धेरै संख्यामा परीक्षण भएको छ। यस्तो अवस्थामा घटिसक्यो भन्न मिल्दैन।’

    यकिन संक्रमणदर परीक्षणको दायरा बढाएर मात्र थाहा पाउन सकिने उनको सुझाव छ। यसका लागि सरकारले अहिलेको भन्दा तीन गुणा अर्थात् दैनिक करिब ५० हजार नमुनाको परीक्षण गर्नुपर्ने उनले बताए । आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।  

    गत २४ घण्टामा नेपालमा संक्रमणदर १९.६ प्रतिशत छ। अघिल्लो दिन यो दर १९.४ प्रतिशत थियो। संक्रमणदर एक सातायता २५ बाट क्रमशः झर्दै १९ मा आइपुगेको हो। गत २४ घण्टामा परीक्षण भएका १४ हजार ८ सय १९ नमुनामध्ये २ हजार ९ सय १८ जनामा कोरोना पुष्टि भएको छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा.शेरबहादुर पुनका अनुसार उपत्यकामा लक्षण भएका बिरामीको चाप घट्दै गएकाले कोरोना घट्ने क्रममै छ। तर यसको यकिन कन्ट्याक्ट ट्रेसिङबिना सम्भव नहुनेमा उनले पनि जोड दिए । 

    ‘अहिले पनि लक्षण भएका व्यक्तिमात्र परीक्षणका लागि आइरहेका छन्, बाँकी उनीहरूको सम्पर्कमा आएकाको परीक्षण भएको छैन’, उनले भने । गत वर्षजस्तै तीव्र संक्रमणपछि घट्ने क्रममा गएकाले समुदायमा एन्टीबडी परीक्षण गरेर वास्तविकता पत्ता लगाउन सकिने उनले बताए ।

    २०७८, आषाढ १ मंगलवार०८:०६:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार