गाउँपालिकाले एमबिबिस पढाउने

गाउँपालिकाले एमबिबिस पढाउने

२०७८, आषाढ ४ शुक्रवार

  • 1.0K
    SHARES

  • गाउँपालिकाले एमबिबिस पढाउने

    फुङलिङ । चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ ।

    बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो ।

    वर्षमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्थीलाई गाउँपालिकाको खर्चमा निःशुल्क पढाउने गाउँपालिकाले जनाएको छ ।

    विद्यार्थीले पढाइ सकेपछि अनिवार्य दुई वर्ष गाउँपालिकाभित्र स्वास्थ्य कार्यालयमा सेवा गुर्न पर्ने गाउँपालिकाले जनाएको छ ।

    ‘निःशुल्क शिक्षा हामी सबैको इच्छा’ नाराअन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्ने पालिकाभरिका सम्पूर्ण विद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था, प्रत्येक वडाका एक–एक जना सर्बोत्कृष्ठ विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क अध्ययनको व्यवस्था र पालिकाभरिका ४१ वटै विद्यालयका विद्यार्थीको पोशाकमा एकरुपता कायम गर्ने नीति गाउँपालिकाले लिएको छ ।

    गाउँपालिकाले एसइईअघि कम्तीमा दुई महिना निःशुल्क कोचिङ कक्षा चलाउने भएको छ भने उपाध्यक्ष छात्रवृत्ति कार्यक्रमअन्तर्गत दलित, महिला र अपाङ्गता परिचयपत्र प्राप्त विद्यार्थीको भर्ना शुल्क, मासिक शुल्क, रजिष्ट्रेन शुल्क र परीक्षा शुल्कवापतको रकम गाउँपालिकाले व्यहोर्ने भएको छ ।

    यस्तै प्रत्येक वर्षको एसइई परीक्षामा पालिकाभित्रबाट सर्बोत्कृष्ट नतिजा ल्याउने एक छात्र र एक छात्रालाई एक–एक थान ब्राण्डेड ल्यापटपसहित सम्मान गरिने भएको छ । 

    यस्तै कक्षा ८ को वार्षिक  परीक्षामा सर्बोत्कृष्ट नतीजा ल्याउने एक छात्र र एक छात्रालाई नगद रकमसहित पुरस्कृत गर्ने घोषणा गाउँपालिकाले गरेको छ । 

    गाउँपालिकाको सद्भावना पर्यटन दूतमा कलाकार गजुरेल

    गाउँपलिकाले राष्ट्रिय कलाकार मनोज गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्ति गर्ने घोषणा गरेको छ । गाउँपालिकाको नियमित नवौँ गाउँसभामा गजुरेललाई सद्भावना पर्यटन दूत नियुक्त गर्ने निर्णय गरिएको थियो । 

    ‘सिरिजङ्गाको छोरा’ उपनामले समेत गजुरेललाई सम्मान गर्ने गाउँपालिकाले जनाएको छ । गजुरेल सिरिजङ्गा गाउँपालिका-५ मामाखे गाउँमा जन्मिएका हुन् । 

    २०७८, आषाढ ४ शुक्रवार१२:५४:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार