मंसिर ३०, काठमाडौं ।
आर्थिक वर्ष २०७५/७६ को लाभांश पारित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको ५३ औँ वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ।
काठमाण्डौको कालिमाटीस्थित केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट कम्पनीको सभा सञ्चालन भएको थियो। सभाले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांशबापत १ करोड ५३ लाख ५७ हजार ५८० रुपैयाँ र ३ करोड ८३ लाख ९३ हजार ९५० रुपैयाँबराबरको २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।
उक्त आर्थिक वर्षमा कम्पनीले ८ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार गर्दै कुल मुनाफा ७३ करोड १४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको थियो ।
विगत वर्षमा कर्पोरेसनले आयात गरेको चिनीमध्ये २५०० मेट्रिक टन भन्सार विन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। त्यसले धेरै महिनासम्म चिनी भन्सारमा रोकिएका कारण कारोबारमा कमी मात्रै आएको थिएन, डेमरेज चार्ज धेरै तिर्नु परेकाले आर्थिक भार पर्न गएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कर्पोरेसनको त्यस आर्थिक वर्षको कारोबारलाई तुलनात्मक रुपमा मूल्यांकन गर्दा नुन, रासायनिक मललगायत व्यापारिक कारोबार सन्तोषजनक रहेको देखिएको छ।