काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाले २० औँ वार्षिकोत्सव भर्चुअल माध्यमबाट सम्पन्न गरेको छ ।
साना किसानले आज मंगलवार साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिहरू लगायत करिब ३०० जनाको सहभागितामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २० औँ वार्षिकोत्सवको उपलक्ष्यमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाका सम्पूर्ण परिवारहरू, आवद्ध संस्थाहरू, सहकारीकर्मीहरू र कृषि उद्यमीहरू प्रति बधाइ ज्ञापन गर्दै साना किसान विकास लघुवित्त वित्तीय संस्थाले साझेदार संस्थाहरूमार्फत न्यून आय भएका साना किसानहरूको जीवनस्तर माथि उठाउन केन्द्रित रहेको, संख्यात्मक विस्तारमा गुणात्मक पाटो महत्वपूर्ण राख्दछ र वित्तीय संस्थाले आगामी दिनमा अझ गुणस्तरीय, प्रभावकारी र नतिजामुखी सेवा सञ्चालन गर्न सफल र सक्षम रहोस् भनी शुभकामना व्यक्त गरेका थिए ।

वित्तीय संस्थाका अध्यक्ष श्री खेम बहादुर पाठकले कार्यक्रमको औपचारिक रूपमा उद्घाटन गर्दै यस वित्तीय संस्थामार्फत सहुलियत कर्जा प्रवाह गरी ग्रामीण क्षेत्रमा अवस्थित साना किसान तथा युवाहरूले कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्यमहरू सञ्चालन गर्न सफल भएको बताए । यस वित्तीय संस्थालाई अझ सुलभ तथा सहुलियत कर्जा प्राप्त भयो भने धेरै साना किसानहरूलाई उद्यमी र व्यावसायिक बनाउन सकिने देखिन्छ, मन्तव्यमा क्रममा पाठकले भनेका थिए ।
यस वित्तीय संस्थाले ७४ जिल्लाका ५३१ पालिकामा ९५७ साना किसान कृषि सहकारी संस्था सहित कुल १३७४ सहकारी संस्थाहरुको प्रवर्द्धन र विकास गरी यिनै मार्फत ८ लाख ९७ हजारभन्दा बढी विपन्न तथा साना किसान परिवारमा लघुवित्त एवम् कृषि प्रवर्द्धन कार्यक्रम पुर्याउन सफल भएको बताएको छ ।