उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

२०७८, आषाढ २३ बुधवार

  • 977
    SHARES

  • उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन

    काठमाडौं । बीमा समितिले कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरूमा उधारोमा समेत बीमा पोलिसी विक्री गर्ने प्रवृत्ति बढेपछि समितिले हालै यस्तो निर्देशन जारी गरेको हो ।

    समितिले निर्जीवन र जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको नाममा निर्देशन जारी गरेर यस्तो निर्देशन दिएको हो । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न निर्देशन दिएको बताए । 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई नै यस विषयमा बढी चनाखो हुन भनिएको उनको भनाइ छ । आजको आर्थिक अभियन दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् । 

    ‘निरीक्षणको क्रममा जीवन तथा निर्जीवन दुवै कम्पनीले उधारोमा बीमा पोलिसी विक्री गरेको पाइयो, जुन बीमा ऐनकै विपरीत हो,’ उनले भने, ‘हामीले २ महीनाअघि पनि कम्पनीहरूलाई उधारोमा बीमा पोलिसी विक्री नगर्न आन्तरिक रूपमा परिपत्र जारी गरेका थियौँ । तर, यो प्रवृत्ति नरोकिएपछि अहिले कम्पनीका सीईओहरूलाई यस विषयमा चनाखो हुनु भन्दै निर्देशन नै जारी गरेका हौं ।’

    विशेषगरी असार महीनामा बढी मात्रामा उधारोमा बीमा पोलिसी विक्री हुने गर्छ । आर्थिक वर्षको अन्तिम महीना भएकाले लक्ष्य पूरा गर्न असार महीनामा उधारोमा बीमा पोलिसी गर्ने गरेको पाइन्छ । त्यही कारणले यस विषयमा बीमा कम्पनीहरूलाई थप निर्देशन दिइएको अध्यक्ष सिलवालको भनाइ छ ।

    बीमा ऐनअअनुसार कुनै पनि कम्पनीले बीमाशुल्क प्राप्त नभएसम्म बीमा जोखिम स्वीकार गर्नु हुँदैन । कम्पनीले बीमाशुल्क प्राप्त गरेपछि मात्र बीमा गरेको मानिनेछ । तर, कम्पनीहरूले ऐनविपरीत उधारोमा बीमा पोलिसी विक्री गरेको समितिको विभिन्न निरीक्षण तथा अनुगमनले देखाएको थियो ।

    २०७८, आषाढ २३ बुधवार०९:०५:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार