पौष १, काठमाडौं ।
सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
दिउँसो १ बजे बस्ने बैठकमा पार्टी विवादबारे छलफल गर्ने तयारी छ । नेकपा महाधिवेशन केन्द्रीत छलफल गर्ने बैठक भएता पनि सो एजेण्डा नै बन्न सकेको छैन ।
मंसिर २१ मा मा शुरु भएको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को उद्घाटन मन्तव्य र अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको दुई पन्ने पत्र पढेर सुनाएपछि बैठक एक साताका लागि स्थगित भएको थियो ।
मंसिर २८ गतको बैठक केन्द्रीय सदस्य कमान सिंह लामाको मंसिर २५ गते कोरोना संक्रमणबाट निधन भएकाले शोक प्रस्ताव पारित गरेर बैठक सकिएको थियो । आजका लागि बोलाइएको बैठकमा भने स्थायी कमिटी सदस्यहरुले आ -आफ्ना धारणा राख्ने योजना छ ।
तर पार्टीमा विवाद चलिरहेका बेला सरकारले हिजो संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि नयाँ विवाद थपिएको छ । सो सम्बन्धमा हिजै साँझ प्रचण्ड निवास खुमलटारमा ओली इतरका सचिवालय सदस्यहरु बसेर अध्यादेश फिर्ता लिन दबाब दिने योजना सार्वजनिक गरिसकेका छन् ।
प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुले स्थायी कमिटीमा अध्यादेश फिर्ताको माग उठाउने सम्भावना बढी छ ।
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले यसबारे प्रष्ट धारणा राखेका छैनन् । ओली पक्षका स्थायी कमिटी सदस्यहरुमध्ये ईश्वर पोखरेलले अध्यादेशको समर्थन गरेका छन् । उनी बाहेकका नेताहरुले अध्यादेशबारे बोल्न चाहेका छैनन् ।
सरकारले वैशाख ८ मा पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसबेला दल विभाजन सम्बन्धी अध्यादेशसँगै नेकपामा विवाद सुरु भएको थियो र तीन दिनमै अध्यादेश फिर्ता भएको थियो ।
यस पटक भने सरकारलाई काम गर्न नदिइएको र घेराबन्दी गरेर अप्ठ्यारो पार्न खोजिएकाले नै अध्यादेश ल्याउनुपरेको परराष्ट्र सल्लाहकार राजन भट्टराईले जनाएका छन् ।
अध्यादेश ल्याएर भ्रष्टाचार मुद्धामा विरोधी खेमालाई ठिक पार्न खोजिएको अहिलेको अध्यादेश सहि भएको भन्ने जस्ता तर्कहरु पनि सामाजिक संजालमा छ्यापछ्याप्ती देख्न सकिन्छ ।