किसान कल्याणको वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

किसान कल्याणको वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

२०७७, मंसिर १४ आइतवार

  • 2.6K
    SHARES

  • किसान कल्याणको वार्षिक साधारण सभा सम्पन्न, ९ प्रतिशत लाभांश पारित

    मंसिर १४, इटहरी ।
     
    किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. इटहरी १६, सुनसरीको १९ औँ वार्षिक साधारण सभा मंसिर १३ गते शनिबार सम्पन्न भएको छ । कोभिड -१९ को महामारीको उच्च जोखिमका कारण संस्थाका सबै सेवा केन्द्रबाट भौतिक रुपमा उपस्थित हुन समस्या भएपछि अभौतिक भर्चुअल उपस्थितिमा सञ्चालन गरिएको कुरा संस्थाका सचिव एवं कार्यक्रम सञ्चालक थिरबहादुर खड्काँले जानकारी दिए । 

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रदेश सभा सदस्य, एक नं. प्रदेश तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीम आचार्यले सहकारीका संस्थापक एवं एफ.डब्लु राइफाइसन र संस्थाका निवर्तमान अध्यक्ष चूडाराज खतिवडाको फोटोमा माल्यार्पण गरी गरेका थिए । 

    साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि आचार्यले भने,  ‘देशको विकास, राष्ट्रको निमार्ण र जनताको समृद्धि हासिल गर्ने महत्वपूर्ण क्षेत्र भनेको सहकारी हो । यसमा सबैले गौरव गर्नुपर्छ ।’ नामअनुसारको काम गर्दै आइरहेको संस्थाले अब मल, बीउ, कोल्डस्टोर स्थापना जस्ता किसान लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने पर्नेमा उनको जोड रहेको  थियो ।

    ‘कोभिड -१९ ले गर्दा राज्यले सञ्चालन गरिरहेका संस्था धरासायी बनेका छन् तर समुदायमा व्यवस्थित रुपमा सञ्चालित किसान कल्याणजस्ता सहकारीले अहिलेको अर्थतन्त्र धान्न टेवा पुर्याइरहेका छन् ।’

    संविधानमा उल्लेख भएका देशको तिन खम्बे अर्थ नीति अन्तर्गत एउटा महत्वपूर्ण खम्बा सहकारी भएको चर्चा गर्दै प्रमुख अतिथि आचार्यले संस्थालाई उचाइतिर लैजान आर्थिक अनुशासन, वित्तीय चेतना, तालिम लगायतमा व्यवस्थापकीय पक्षको महत्वपूर्ण भूमिका रहने धारणा राखेका थिए । 

    उनले पटकपटक राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा पुरस्कृत गराउन सफल भएकोमा संस्थाको अध्यक्ष लगायत सबै टिमको खुलेर प्रसंसासमेत गर्दै भने, ‘सबै प्रकारको साथ सहयोग  र भूमिकाबाट सफलताको उचाइ प्राप्त गरेको संस्थाका लागि थप सफलताको कामना छ।’

    विशेष अतिथिका रुपमा भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, सहकारी विभागका अधिकृत ढुण्डीराज दुलालले शुभकामना मन्तव्य राख्दै भने, ‘च्याउझै उम्रिएका सहकारीले सामाजिक आर्थिक विचलन भित्र्याइ जनताको विश्वास गुमाउने काम गरेका छन् । अब संघीय सरकारले एकीकरण गर्ने कार्यविधि सञ्चालनमा ल्याएको छ ।

    प्रदेश १ मा मात्रै ६१ वटा एकीकरण भइसकेका छन् । हाल प्रदेश १ अन्तर्गत  सञ्चालनमा १ हजार ६८ वटा सहकारीलाई ३ सयदेखि ४ सयका बिचमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।’

    agm2.jpg

    यसैबीच किसान कल्याण सहकारी र जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच एकीकरण गरी कारोबार गर्न लागेकोमा खुसी व्यक्त गर्दै भने,  ‘अब प्रदेश सरकारको मातहतमा रहेका सबै सहकारीहरु सहकारीको मूल्यमान्यता पुरा गरी चाँडै एकीकरणको प्रक्रियामा जान्छन् । दुई उत्कृष्ट  संस्थाबीच हुन लागेको एकीकरणका लागि विभागको तर्फबाट शुभकामना छ ।’

    एकीकरणका लागि कार्यविधिका २१ वटा बुँदालाई टेकेर आफुले  सहयोग गर्न सकिने उनको भनाइ थियो ।

    संस्थाका अध्यक्ष एवं सहकारी अभियन्ता शालिकराम ढकालले मन्तव्यका क्रममा कार्यक्रमको उद्देश्य तथा औचित्यमाथि प्रकाश पारेका थिए । समाजवाद उन्मुख अर्थतन्त्रको निमार्णमा सहकारीको योगदान महत्वपूर्ण रहेको भन्दै अध्यक्ष ढकालले संस्थाका सम्पूर्ण सदस्यहरुलाई कुनै न कुनै उद्यममार्फत स्वरोजगार सिर्जना गर्दै उत्पादनमा संलग्न हुनका लागि आह्वान गरेका थिए । 

    ‘आज हामी सबैको सकारात्मक सोच र प्रयासका कारण किसान कल्याणलाई जुन उचाइमा लैजान सफल भएका छौं । यो हामी सबैको निरन्तर प्रयासको प्रतिफल हो । किसान कल्याण सहकारीका मूल्यमान्यता र सिद्धान्तमा आधारित संस्था हो । यसले नीतिमाथि विश्वास गर्छ । आज जति पनि आर्थिक गतिविधि सञ्चालन भइरहेका छन् ती सबै संस्थाले समय समयमा निर्माण गरेका ३१ नीति र ३६ वटा कार्यविधिका आधारमा सञ्चालित छन् ।’

    हरहमेसा साथ सहयोग दिने नेफ्स्कुन, जिल्ला सहकारी संघ, सहकारी विभाग, दक्षिण एसियाली ऋण महासंघ लगायतका दर्जनौं संघसंस्थाले देखाएका मार्गदर्शनप्रति हामी प्रतिबद्ध रहेको कुरा यस कार्यक्रममार्फत् जानकारी गराउँदछु ’ उनले भने । 

    उपाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठले कार्यक्रममा आमन्त्रित प्रमुख अतिथि लगाएत सबैलाई स्वागत गरेका थिए । मन्तव्यका क्रममा उनले भने, ‘संस्थाले आर्जन गरेको यो उचाइलाई बचाइ राख्नका लागि हाम्रा सामु आइपर्ने हरेक चुनैतिको मिलेर सामना गर्नुपर्छ ।

    हामीले गरेको निरन्तर प्रयासका कारण आज हाम्रो सहकारी नेपालकै उत्कृष्ट सहकारीका रुपमा चिनिन पुगेको छ । यस पुनित कार्यमा अहोरात्र खटिनुहुने टिमका सम्पूर्ण शेयर सदस्य, बचतकर्ता र अतिथिगणप्रति हार्दिक स्वागत एवं आभार व्यक्त गर्दछु ।’

    संस्थाका सचिव थिरबहादुर खड्काले प्रस्तुत गरेको आ.व. ०७६/७७ को प्रगति विवरण र आ.व. ०७७/७८ को प्रस्तावित कार्यक्रमलाई हलबाट अनुमोदन गरिएको थियो ।

    कोषाध्यक्ष गोमाकुमारी गिरी खड्काले प्रस्तुत गरेको संस्थाको आ.व. २०७६/७७ को वित्तिय प्रगति विवरण र लेखा परीक्षण विवरण तथा आव २०७७/०७८ को प्रस्तावित बजेटमाथि छलफलपश्चात पारित गरिएको थियो  । 

    agm.jpg

    कोभिड -१९ को महामारीका बीचमा पनि संस्थाले आ.व. २०७६/७७ को वित्तीय प्रगति बिवरणअनुसार १ करोड ६२ लाख ९७ हजार १ सय ७० रुपियाँ खुद नाफा आर्जन गरेको थियो । यस वर्ष शेयर सदस्यहरुलाई अनुपातिक रुपमा ९ प्रतिशत लाभांश बाँड्न सफल भएको थियो । हाल संस्थाको कुल पुँजीँ ७३ करोड रहेको छ ।

    वि.सं. २०५३ सालमा ३५ जनाबाट जनही रु ५० उठाइ जम्मा १७ सय ५० रुपियाँबाट शुरु गरिएको किसान कल्याण आज अर्बौको कारोबार गर्न सफल हुनुमा किसान कल्याण सहकारीमा आबद्ध १४ हजारभन्दा बढी  शेयर सदस्यहरुको अतुलनीय योगदान रहेको पाइन्छ ।

    समारोहमा सहकारी अभियन्ता नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. नेफ्स्कूनका निवर्तमान कोषध्यक्ष केशव प्रसाद पोखरेल लगायत संस्थाका निवर्तमान सञ्चालक उपाध्यक्ष पेशलकुमार लम्साल, सदस्यहरु तुलसीराम चौधरी, इश्वरीप्रसाद लम्साल, विष्णुकुमारी थापा, बिमलाकुमारी चौधरीलाई सम्मान तथा पुरस्कार बितरण गरिएको थियो ।

    कार्यक्रममा उत्कृष्ट कर्मचारी पुरस्कारतर्फ बचत सहायक रीता खतिवडा, उत्कृष्ट बजार प्रनिनिधि पुरस्कार कृष्णकुमारी राई र  विशेष सम्मान सदस्य नं. ८ हजार ८ सय ५८ का नारायणप्रसाद सुवेदीलाई सम्मान तथा नगद पुरस्कार बितरण गरिएको थियो ।

    साधारण सभामा उपस्थितिका लागि सदस्यहरुको दस्तखत संकलनका लागि २ हप्ता २२ वटा हस्ताक्षर संकलन केन्द्रबाट  सदस्यहरुको हस्ताक्षर संकलन गरिएको कुरा सञ्चालक सदस्य मात्रिका भट्टराईले जानकारी दिए । उनका अनुसार हस्ताक्षर केन्द्रका रुपमा इटहरी उपमहानगरपालिका १६ स्थित मुख्य कार्यालयको भवन, जनजागृति मावि इटहरी १७, खनार सेवा केन्द्रको कार्यालय, जब्दी मावि वडा नं.१८ पकली मावि र सनराइज स्कुल उब्दी संकलन केन्द्र तोकिएका थिए ।

    रामधुनी नगरपालिका अन्र्तगत रामजानकी मावि सिंगिया, आदर्श मावि बक्लौरी, जनता मावि कालावञ्जर र इनरुवा नगरपालिका अन्तर्गत शारदा मावि ६, प्रकाशपुर बजार दुर्गा मन्दिर, रामधुनी सेवाकेन्द्रको कार्यालय, राजावास सेवाकेन्दको कार्यालय, चक्रघट्टी सेवाकेन्द्रको कार्यालय, चतरा सेवाकेन्द्रको कार्यालय र बराह क्षेत्र नगरपालिका अन्तर्गत बराहक्षेत्र मन्दिर परिसर तोकिएको थियो भने हस्ताक्षर संकलनमा आउँदा बचत पासबुक अनिवार्य गरिएको थियो ।

    कार्यक्रममा संस्थाका सल्लाहकार संयोजक कृष्ण विनोद लम्साल, जिल्ला सहकारी सङ्घ लि. सुनसरीका सचिव गङ्गाप्रसाद दाहाल, जनता बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष  यादवप्रसाद सिग्देल, कानुनी सल्लाहकार प्रेमप्रसाद पोखरेल र किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि. का लेखा सुपरीवेक्षण समिति संयोजक रामबहादुर राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

    बालग्राम चौकस्थित लायन्स क्लबको सभा हलमा सम्पन्न साधारण सभाको एरिना टेलिभिजन, सुनसरी सामुदायिक रेडियो र संस्थाको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

    २०७७, मंसिर १४ आइतवार०७:३३:३९

    पुष्पराज भट्टराई

    प्रतिक्रिया
    सम्बन्धित समाचार