धितो दिन नसक्नेका लागि मकवानपुरगढी गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड

धितो दिन नसक्नेका लागि मकवानपुरगढी गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड

२०७८, श्रावण ८ शुक्रवार

  • 2.9K
    SHARES

  • धितो दिन नसक्नेका लागि मकवानपुरगढी गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड

    हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो कार्यक्रम ल्याएको हो । 

    गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले महिलालाई ३.५६ प्रतिशत र पुरुषलाई ४.५६ प्रतिशत ब्याजदरमा पाँच वर्षका लागि कर्जा प्रवाह गरेको जानकारी दिए । हालसम्म २५ जनालाई वितरण गरिएको कार्ड पालिकाका विपन्न वर्गको पहुँचमा स्वरोजगार निर्माण गर्न उक्त कार्यक्रम प्रभावकारी हुने अध्यक्ष हुमागाईंको भनाइ छ ।

    ती कृषक जसले धितो दिन सक्दैनन् र सहज हिसाबले ऋण लिएर व्यवसाय गर्न सक्दैनन् त्यस्ता कृषकका लागि यो कार्यक्रमले सहयोग गर्ने उनले बताए । अध्यक्ष हुमागाईंले मनकामना दुग्ध सहकारी लिमिटेडसँगको सहकार्यमा नेपाल बङ्गलादेश बैंक लि. मकवानपुरगढी शाखाबाट उनीहरुले ऋण प्राप्त गर्ने जनाए । 

    नेपाल बङ्गलादेश बैंकका प्रमुख बद्रीविक्रम थापाले बैंकले किसान क्रेडिटकार्डमार्फत पहिलोपटक नौलो कार्यक्रमअन्तर्गत ऋण लगानी गरेको जानकारी दिए । यस कार्यक्रमले बैंक र किसान दुवैले लाभ गर्ने लक्ष्य राखेको शाखा प्रमुख थापाले बताए । यस पालिकामा कृषिमा गरिने लगानी लाभदायी हुने उनले जनाए । 
     
    मनकामना दुग्ध सहकारी संस्था लि।का अध्यक्ष अर्जुनप्रसाद दाहालले दूध उत्पादन गरेर आम्दानी गर्न चाहने कृषकको लागि किसान क्रेडिट कार्यक्रमले जीवनस्तर उकास्न सहयोग पुग्ने बताए । गाईबस्तु पालेर आम्दानी गर्न चाहने तर लगानी नभएका कृषकलाई उक्त कार्ड उपलब्ध गराउन सहकारीले भूमिका खेल्ने उनले जानकारी दिए ।  
     
    क्रेडिटकार्ड प्राप्त गरेर खुशी हुनुभएका कृषक कृष्णप्रसाद तिमल्सिनाले यो ऋणले भैँसी किन्ने बताए । दूधबाट मनग्य आम्दानी हुने भएका कारण आफूलाई भैँसी किनेर दुग्ध व्यवसाय गर्न मन लागेको उनको भनाइ छ । यसैगरी अर्का कृषक राजु ढकालले पनि उन्नत जातका गाई किन्नमा उक्त ऋण लगाउने बताए । सहुलियत ब्याजदरमा ऋण प्राप्त गरेकाले पनि ऋण चुक्ता गर्न सजिलो हुने उनको विश्वास छ ।

    यसैगरी कृषक सूर्यमाया रुम्बा पनि किसान क्रेडिटकार्ड पाएर खुशी भएका छन् । पशुपालनलाई मुख्य पेशा बनाउँदै आएका उनले महिला भएकै कारण ३.५६ प्रतिशत ब्याजदरमा ऋण प्राप्त गरेका हुन् । दूधबाट मनग्य आम्दानी हुने उनले बताए । वाग्मती प्रदेश सरकारले ऋृण लगानीको सबैभन्दा ठूलो हिस्सा कृषिमा लगानी गरेको छ । 

    २०७८, श्रावण ८ शुक्रवार०२:४६:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार