काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले अबदेखि कोरोनाविरुद्धको खोप लगाउन अनलाइन फारम अनिवार्य गर्ने भएको छ ।
काठमाडौं उपत्यकासहित ७७ वटै जिल्लामा कोरोनाविरुद्धको खोप लगाउन अबदेखि अनलाइन फारम अनिवार्य गरिएको स्वास्थ्य कार्यालय काठमाडौका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए।
उनका अनुसार ७७ वटै जिल्लामा अबदेखि १८ वर्षदेखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय (अनलाइन) दर्ता नम्बर ल्याए मात्र कोरोनाको खोप लगाउन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको साउन १ गतेको पत्रमा उल्लेख भएअनुसार उक्त निर्णय भएको प्रखुम खड्काले बताए । साथै उनले १८ वर्षदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई आफ्नो नाम दर्ता गराउन आग्रह गरेका छन्।
खोपका लागि अनलाइन दर्ता गर्ने नागरिकलाई अर्को सूचना गरेर खोप दिन शुरु गर्ने उनले बताए। खोप व्यवस्थापनमा भद्रगोल भएको र लक्षित उमेर समूहले समेत खोप नपाएको अवस्थामा अनलाइन फारमले व्यवस्थित गर्ने अनुमान गर्न सकिन्छ ।
अब अनलाइन फारम दर्ता पनि गर्दै जाने र खोप पनि प्रदान गर्दै जाने स्वास्थ्यको रणनिति देखिन्छ ।
अबको खोप पाउने उमेर समूह ४५ देखि ४९ वर्षका नागरिक हुन्, उनले भने, चाँडै नै लक्षित समूहलाई खोप खुल्ला गरिने छ । तर, योबारे स्वास्थ्य मन्त्रालयको पत्र प्राप्त नभएसम्म थाहाँ नहुने पनि उनको भनाई छ ।
खोपका लागि अनलाइन दर्ता भएको प्रमाण लिइ आगामी दिनमा सञ्चालन हुने खोप केन्द्रमा सर्वसाधारणले खोप लगाउन सक्ने उनले बताए । खोप प्रक्रियामा समावेश हुन १८ वर्षभन्दा माथिका नागरिकले https://vaccine.mohp.gov.np/ मा गएर अनलाइन दर्ता गर्न सकिन्छ।