जापानको राजधानीमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित, स्वास्थ्य प्रणाली प्रभावहिन

जापानको राजधानीमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित, स्वास्थ्य प्रणाली प्रभावहिन

२०७७, पौष ३ शुक्रवार

  • 1.2K
    SHARES

  • जापानको राजधानीमा एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित, स्वास्थ्य प्रणाली प्रभावहिन

    पौष ३, टोकियो । 

    जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । 

    टोकियोको महानगर प्रशासनले बिहीबार एकैदिन ८२२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।

    सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अपर्याप्त भएको अधिकारीहरुले जनाएका छन् ।

    टोकियोमा यसअघि गत बुधबार एकैदिनमा ६७८ जना सङ्क्रमित भएका थिए । 

    सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन बढ्दै गएपछि सर्वत्र चासो र चिन्ता पनि बढेको छ । 

    टोकियोका गभर्नर युरिको कोइकेले जनताको जीवन जोगाउनका लागि आफुहरु सवै प्रकारका सतर्कता र प्रयासहरु गर्न लागिरहेको पत्रकारहरुलाई जानकारी दिए ।  

    एक करोड ४० लाख जनसङ्ख्या भएको राजधानीमा कोरोनाबाट सङ्क्रमितहरुको प्रभाबकारी उपचार सेवाका लागि थप सामान्य शैयाहरूको स्थापना गरी सेवा दिन अस्पतालहरूलाई निर्देशन दिइएको उनले बताए ।  

    सरकारी अधिकारीहरूले राजधानी टोकियोको अवस्था प्रतिदिन नराम्रो हुँदै गइरहेको बताएका छन् ।

    टोकियोमा कोरोना सङ्क्रमितका लागि मात्रै भनेर तीन हजार शैया छुट्याइएकोमा त्यसको ७० प्रतिशत शैया गत हप्ता नै प्रयोग भइसकेको थियो । अरु एक हजार शैया थप्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् । 

    टोकियोमा बिहीबार बेलुकासम्म ४९ हजार ४९० जना सङ्क्रमित भएका छन् । सङ्क्रमितहरुको सङ्ख्या देशभरी नै बढिरहेको छ । देशभरी बिहीबार एकैदिन तीन हजार २११ जना नयाँ सङ्क्रमित थपिएका छन् । 

    जापानमा अहिलेसम्म कुल एक लाख ९० हजार ९३५ जना सङ्क्रमित भएका छन् भने कोरोना लागेपछि मृत्यु भएकाहरुको सङ्ख्या दुई हजार ८०४ रहेको छ । 

    एसियाली विकसित मुलुक जापानमा अहिले कोरोनाभाइरसको महामारीको तेस्रो चरण आएको हो ।- एजेन्सी ।     

    २०७७, पौष ३ शुक्रवार०७:४१:३३
    प्रतिक्रिया
    सम्बन्धित समाचार