पौष ४, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ ।
प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष दाहाल शुक्रवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।
पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ ।
बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।
त्यसै गरि प्रचण्डले लेखेको १९ पेजको आरोप पत्र पनि फिर्ता लिएर भाद्र २६ को सहमति अनुसार अगाडी बढ्ने आन्तरिक सहमति भएको पनि जनाइएको छ । यद्यपि प्रचण्डको सचिवालयले सो कुराको खण्डन गर्दै आएको छ ।
नेकपा स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।