काठमाडौं । कर्मचारी सञ्चय कोषले आफ्नो स्थापनाको ६०औं वार्षिकोत्सव भौतिक तथा भर्चुअल माध्यमबाट कोषको केन्द्रीय कार्यालय पुल्चोकमा सम्पन्न गरेको छ ।
आज कोषद्धारा आयोजित वार्षिकोत्सव कार्यक्रमको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै अर्थमन्त्री श्री जनार्दन शर्माले वित्तीय स्रोतमा भएको बृद्धि, कारोवारको प्रकृतिमा भएको विविधता, प्रविधिप्रतिको बढ्दो निर्भरतासँगै वित्तीय प्रणालीमा जोखिम बढिरहेकोले कर्मचारी सञ्चय कोष समेत सो जोखिमबाट प्रभावित हुनेहुँदा यस तर्फ कोष सचेत रहनुपर्ने बताए ।
वित्तीय स्रोतको ब्यवस्थापन र सञ्चयकर्ताको सेवाको दृष्टिकोणबाट कोषका गतिविधि सञ्तोषजनक रुपमा अघि बढिरहेको र संस्थागत सुशासन तथा जोखिम ब्यवस्थापन क्षेत्रमा कोषले थप सुधार गर्नुपर्ने कुरा मन्त्री शर्माले औंल्याए ।
उक्त अवसरमा कोष गतिविधिको नियमनका लागि अलग्गै र प्रभावकारी नियमनकारी निकायको ब्यवस्था भईनसकेको वर्तमान समयमा कोष सञ्चालक समिति र ब्यवस्थापनले स्व–नियमनकारी भूमिका समेत निर्वाह गर्दै योगदानमा आधारित निबृत्तभरण कोष समेतको समग्र ब्यवस्थापनमा विशिष्टिकरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
यसैगरी सोही कार्यक्रममा बोल्दै नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष श्री कृष्णहरि पुष्करले सञ्चय कोष योगदानका अतिरिक्त विगत २ बर्षदेखि सञ्चालनमा रहेको योगदानमा आधारित निबृत्तभरण कोषमा संकलित करिब ४ खर्ब ४४ अर्ब बराबरको स्रोतको कुशल ब्यवस्थापन गर्न सफल भई विश्वसनीय संस्थाको रुपमा सबैको विश्वास जितेको बताए ।
सोहि कार्यक्रममा बोल्दै कोषका निमित्त प्रशासक श्री जितेन्द्र धितालले कोष साठी बर्षमा प्रवेश गरेको उपलक्ष्यमा समस्त सञ्चयकर्ता तथा कोष परिवार प्रति बधाई तथा शुभ–कामना ब्यक्त गर्दै सञ्चयकर्ताको योगदान रकमको कुशल ब्यवस्थापन तथा परिचालनबाट प्राप्त प्रतिफलको न्यायोचित वितरण गर्ने एवम् सेवा प्रवाहमा गुणात्मक सुधार गर्दै सञ्चयकर्ताको हित र सन्तुष्टिप्रति कोष परिवार सदैव क्रियाशिल रहने प्रतिवद्धता ब्यक्त गरे ।
सो अवसरमा उनले कोषको वर्तमान अवस्था, आर्थिक बर्ष २०७७/७८ मा भएको प्रमुख उपलब्धीहरुको समिक्षा र कोषको भावी योजना र प्रतिबद्धता सम्बन्धी विवरण प्रस्तुत गरे ।
कार्यक्रममा नेपाल सरकारका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष श्री कृष्णहरि पुष्करले कोभिड १९ संक्रमण जोखिमका कारण भौतिक रुपमा उपस्थित हुन नसकेका कोषमा २५ वर्ष सेवा अवधि पूरा गरेका २२ जना कर्मचारीलाई प्रदान गर्ने दिर्घसेवा पदक र प्रमाणपत्रहरु एवम् २०७७ सालको एस.ई.ई. परिक्षामा उतिर्ण हुने कोषमा कार्यरत कर्मचारीहरुका ८ जना छोरा/छोरीहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गर्न कोषका निमित्त प्रशासक श्री जितेन्द्र धिताललाई एकमुष्ठ रुपमा हस्तान्तरण गरे ।
कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार वि.सं.२०१९ भदौ ३१ गते स्थापना भएको कर्मचारी सञ्चय कोषमा हाल ५ लाख ९८ हजार सञ्चयकर्ताहरुको सञ्चय कोष ३९८ अर्व ६ करोड र योगदानमा आधारीत निबृत्तभरण कोष १ अर्ब ५८ करोड गरी जम्मा ४४४ अर्व भन्दा बढीकोे वित्तिय स्रोत रहेको छ ।
उक्त रकमबाट कोषले सञ्चयकर्ताको सेवाकालिन आवश्यकता पूर्ति गर्नको लागि विशेष सापटी, शैक्षिक सापटी, घर सापटी, घर मर्मत सापटी र सञ्चयकर्ता सरल चक्र कर्जा जस्ता सापटी सुविधाहरु प्रदान गरिरहेको छ भने मुनाफा रकमबाट सामाजिक सुरक्षण कोष खडा गरी प्रसुती स्याहार, क्रिया खर्च, दुर्घटना क्षतिपूर्ति र सञ्चयकर्ता स्वास्थ्योपचार योजना कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।
यसै सन्दर्भमा कोषले सञ्चयकर्ताहरुको लागि आजैदेखि सञ्चयकर्ता घरजग्गा खरिद कर्जाको शुरुवात समेत गरेको छ ।
यसैगरी कोषले मुलुकको पूर्वाधार विकासको लागि विभिन्न जलविद्युत कम्पनीहरु माथिल्लो तामाकोशी, चिलिमे जलविद्युत कम्पनीद्धारा प्रबर्धित विभिन्न जलविद्युत आयोजनाहरु लगायत अन्य आयोजनाहरुमा ऋण लगानी गरिरहेको छ भने नेपाल बायु सेवा निगमलाई विमान खरिद गर्न ऋण लगानी गरेको छ यस्तै कोषले अधिकांश शेयर स्वामित्व सञ्चयकर्ताहरुको रहने गरी बेतन कर्णाली जलविद्युत आयोजना निर्माण प्रकृयाको शुरुवात गरेको छ ।