आमा खण्डकाव्य: बधाई, शुभकामना र समीक्षाका स्वरहरू

आमा खण्डकाव्य: बधाई, शुभकामना र समीक्षाका स्वरहरू

२०७८, आश्विन ८ शुक्रवार

  • 3.6K
    SHARES

  • आमा खण्डकाव्य: बधाई, शुभकामना र समीक्षाका स्वरहरू

    साहित्य सिर्जनाको भोक भनेको अचम्मैको हुँदोरहेछ । लेख्ने अनि थन्क्याउने नियति बाँचेका छन् मेरा कतिपय कृतिहरूले । तथापि लेख्ने भोक भने कहिल्यै मरेन । पहिले नै तयार भएर प्रकाशनको पर्खाइमा रहेका मेरा साहित्यिक कृतिहरू– श्रीधरा महाकाव्य, आरक्षण कथासब्ग्रह, दुईवटा यात्रा संस्मरण, कविता, गीत र लघुकथाका कृतिहरूभन्दा पछि लेखिएको 'आमा’ खण्डकाव्यले सबैभन्दा पहिले प्रकाशनको सौभाग्य पायो ।

    यही २०७८ असोज २ गतेका दिन नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति गंगाप्रसाद उप्रेतीज्यूबाट लोकार्पण भएको यस खण्डकाव्यका लागि उपस्थित सबै अतिथिवर्गबाट प्राप्त भएका बधाई, शुभकामना र समीक्षाको सारसंक्षेप यहाँ प्रस्तुत गरेर उक्त समारोहमा सहभागी हुन नसक्नुभएका साहित्यिक पाठकहरूसम्म पु-याउने अभिप्रायले यो दस्तावेज तयार गरिएको हो ।

    ganesh-marmik.jpg

    प्रमुख अतिथि गंगाप्रसाद उप्रेती (नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति):
    नेपाली साहित्यमा एउटा राम्रो खण्डकाव्य ल्याउनुभएकोमा स्रष्टा मार्मिकजीलाई हार्दिक बधाई दिन्छु । संसारमा सबैभन्दा प्रिय वस्तु रहेका बाबु–आमा जो सिर्जनाका प्रेरणास्रोत पनि हुन् उनीहरूको महिमागान गरेर साहित्य लेख्ने परम्परालाई पछ्याउँदै स्रष्टा गणेश घिमिरे 'मार्मिक’ ले आमा खण्डकाव्य मार्फत सबै प्रकृति र प्रवृत्तिका आमाहरूका बारेमा उल्लेख गर्नुभएको छ ।

    अत्यन्त थोरै आमा पात्र बाहेक आमाहरू सबै महान्नै हुन्छन् । विभिन्न कारणले आफ्नो दायित्व निर्वाह गर्न नसकी उत्पन्न हुने त्रासदीबाट आमाहरू पनि पीडित हुन्छन् र आफ्ना कर्तुतप्रति पश्चात्ताप गर्छन् । यस्ता आमा पात्रका बारेमा समेत वैचारिक हिसाबले विश्लेषण गरिएको भावनात्मक कृतिका कृतिकार मार्मिकजी सिद्घहस्त कविका रूपमा देखिनुभएको छ ।

    यसअघि पनि खण्डकाव्य र महाकाव्य लेखिसक्नुभएका मार्मिकजीको विचार प्रवल छ र विचारलाई अभिव्यक्त गर्ने कला र स–शक्त कवितामा छन्दलाई राम्ररी खेलाउन सक्नेक्षमता र सिद्घि उहाँले प्राप्त गर्नुभएको छ । उहाँबाट धेरै स्तरीय काव्यहरू आउने विश्वास गरेको छु । कविता मात्र नभएर आख्यान क्षेत्रमा पनि उहाँको कलम चलेको देखिन्छ । त्यसतर्फ पनि उहाँको कलम सक्रिय नै रहोस् भन्ने कामना गर्दछु ।

    संगठित रूपमा नेपाली साहित्यको प्रवद्र्घन र परिमार्जनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने थोरै संस्थाहरूमध्ये साहित्यसुधा नेपाल पनि एक हो । प्रवुद्घ विद्वान्हरूको प्रत्यक्ष निर्देशनमा अगाडि बढेको यस संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दै संस्थाले मलाई सम्झिएकोमा हार्दिक धन्यवाद दिन्छु ।

    प्राज्ञ डा.देवी नेपाल (कार्यक्रमका विशेष अतिथि तथा साहित्यसुधा नेपालका संरक्षक):
    नयाँ काव्यको जन्म दिनुभएकोमा खण्डकाव्यकार गणेश 'मार्मिक’ज्यूलाई बधाई ज्ञापन गर्दछु । यो खण्डकाव्य मार्मिकज्यूको निजी अनुभूति मात्र भएर आएन हरेक पाठक र स्रोताको साझा अभिव्यक्ति भएर आएको छ । मार्मिकज्यूले जसरी वैयक्तिक अनुभूतिलाई साधारणीकरण गर्ने क्षमता राख्नुभयो यो नै कवित्वको सबैभन्दा सफल पाटो हो भन्ने मलाई लाग्छ ।

    यस किसिमको सम्वेदनशील विषयमा वैयक्तिक अनुभूतिको साधारणीकरणको उच्च क्षमताका साथ कवित्वको प्रस्तुति लिएर आउनुभएको छ गणेश घिमिरेज्यू । यसकारण पनि म उहाँलाई हार्दिक बधाई दिन्छु । गणेश मार्मिक यस कृतिमा मात्र कविका रूपमा देखिनुभएको होइन; मुक्तकदेखि फूटकर कविता, खण्डकाव्य हुँदै माथिल्लो तह महाकाव्यसम्म लेखेर कविताका विभिन्न तहमा कलम चलाइसक्नुभएको छ ।

    उहाँको संयुक्त महाकाव्य 'जियालो’ प्रकाशित छ भने एकल महाकाव्य 'श्रीधरा’ प्रकाशोन्मुख छ । उहाँ २०५१ सालमा नै 'पराजित आँखाहरू’ कथासंग्रह लिएर आइसक्नुभएको छ भने अर्को कथासंग्रह 'आरक्षण’ पनि प्रकाशनको मुखैमा आइसकेको छ । उहाँको 'आमा’ खण्डकाव्यमा वार्णिक, मात्रिक र मुक्त सबै छन्दका कविताहरू यस काव्यभित्र समेटिएको पाइन्छ । त्यसमा पनि वार्णिक छन्दलाई अत्यन्त राम्ररी खेलाउनुभएको छ । मुक्त छन्दमा पनि उहाँका फूटकर कविताहरू प्रकाशित छन्।

    यस काव्यको मंगलाचरणरूपी पहिलो सर्गमा विचार र कवित्वको प्रवल उपस्थिति देखिन्छ । दोस्रो सर्गमा आमाको उदात्त चित्रण अन्यन्त उच्च भावका साथ गरिएको छ । तेस्रो सर्गदेखि विभिन्न दृष्टान्तहरू प्रस्तुत गर्दै आमाप्रति विमर्श शुरु गरिएको छ । यसमा चरादेखि जनावरहरूको दृष्टान्तले पनि आमासँगको सम्बन्धलाई स्थापित गरिएको छ । चौथो सर्गमा नारी चरित्रको व्यापकता, उदारता, शालीन अवस्थाजस्ता हरेक पक्षलाई देखाइएको छ ।

    पाँचौँ सर्गदेखि आमाप्रतिको समालोचकीय दृष्टिकोण पोखिएको पाइन्छ । यसमा समाजको समपूर्णता र संवेदनहीनता (आमा र सन्तान दुबै पक्ष) लाई विश्लेषणात्मक तरिकाले प्रस्तुत गरेर कर्णको पीडालाई उद्घाटित गरिएको छ । छैटौँ सर्गमा कुन्तीले आपूmले मातृत्व प्रदान गर्न नसकेको पीडालाई प्रस्तुत गरिएको छ । त्यसैगरी खण्डकाव्यको सातौँ सर्गमा विरोधाभाषपूर्ण दृष्टिकोण प्रस्तुत गर्दै आदर्श दृष्टिकोणचाहिँ यो हो भनेर वैचारिक स्थापना समेत गरिएको पाइन्छ ।

    आठौँ सर्गमा पुगेपछि आमाको निधन भयो । यसमा आमाप्रतिको अत्यन्त श्रद्घाभाव अभिव्यक्त भएको छ । नवौँ सर्गमा उहाँको वैचारिक स्थापना छ भने दशौँ सर्ग अलि विषयान्तर भएपनि कविसँगै सम्बन्धित कविको वंशवृत्त समेटिएको छ । कुल असी पृष्ठभित्र बीसवटा छन्दमा तीनसय सात श्लोक रहेको यो खण्डकाव्य कविताका दृष्टिले अत्यन्त स–शक्त छ ।

    मंगलाचरणमा उहाँले कुनै देवता, अमूर्त शक्ति वा अन्य कुनै अलौकिक शक्तिको प्रशंसा गरेर वरदान नमागी प्रकृतिसँग वरदान वा शक्ति माग्नुभएको छ । प्रकृतिले हामीलाई जीवन दियो ।

    प्रकृतिबाट नै हामी कवित्व ग्रहण गर्दछौँ भन्ने कुरालाई अति स्वाभाविक ढंगले प्रस्तुत गर्नुभएको छ उहाँले । आमालाई सम्वोधन गर्ने क्रममा खण्डकाव्यकार मार्मिकज्यूले आमाको महिमागान गर्दै आमाको हुन् ? भन्ने कुरा स्पष्ट पार्नुभएको छ । आजसम्म विश्वसाहित्यमै सबैभन्दा बढी लेखिएको विषय आमाप्रति उनान्सय प्रतिशत स्रष्टाले प्रश्न उठाएका छैनन् । तर केही समीक्षात्मक तथा आलोचनात्मक दृष्टिकोण भएका कविहरूले भने आमालाई शब्दमा होइन मातृत्वमा खोजिनुपर्छ भन्ने सवाल उठाएका छन् । तिनैमध्येका एक स्रष्टा हुन्गणेश मार्मिक पनि ।

    आमा मात्र भएर हुन्न तनले मातृत्व आधार हो
    बाबा मात्र भनेर पुग्छ र कहाँ पितृत्व नै सार हो
    आत्माभित्र पलाउने मृदुलता आत्मीयता सुन्दर
    रित्याएर खन्याउँछिन्नि ममता सन्तानमा हर्हर

    यस काव्यभित्रको यस कवितांशले बाबु–आमालाई पितृत्व र मातृत्वका दृष्टिले हेरिनुपर्छ भन्ने युगीन दृष्टिकोण पेश गरेको छ । अहिलेको समाजले खोजेको कुरा पनि यही नै हो । यसरी भावुकतामा मात्र सिर्जना होइन यथार्थ परिवेशमा पनि जानुपर्छ भन्ने कुरालाई खण्डकाव्यकार घिमिरेले स्थापित गर्नुभएको छ । यो पाटो मलाई अत्यन्त मनपरेको पाटो हो । 

    यस खण्डकाव्यमा कुन्ती र कर्णलाई अगाडि ल्याएर सबै आमाहरू कुन्तीजस्ता र सबै छोराहरू कर्ण जस्ता पनि हुँदैनन्। कर्णजस्तो पीडित छोरो पनि हुनु नपरोस् र जीवनभरी आत्मग्लानीमा बाँच्नुपर्ने परिवेश कुन्तीले जसरी निर्माण गरिन्त्यस्तो पनि नहोस्भन्ने जुन सदीक्षा कविको हो त्योचाहिँ एउटा आदर्शको पाटो हो । त्यसैले यथार्थको उद्घाटनका साथसाथै आदर्शको स्थापना गर्नका लागि कवि सफल बन्नुभएको छ ।

    यति सुन्दर, विचारप्रधान र दृष्टिकोणप्रधान कृति कमै मात्र पाइन्छ । यस्ता भावनात्मक विषयमा कलम चलाउँदा स्रष्टा जब भावुक बन्दछ त्यहाँ तर्क छायाँमा पर्दछ । जब मान्छे संवेगमा डुबुल्की मार्न थाल्दछ त्यतिखेर सत्यता र प्रमाण हराउन थाल्दछ । तर मार्मिकज्यूले भने यस कुरालाई बिर्सनुभएन र यसलाई समीक्षात्मक रूपले नै अगाडि बढाउनुभयो । गणेश मार्मिकज्यूको यो विशेषता उहाँको 'महेश्वर’ खण्डकाव्यमा पनि प्रतिविम्वित भएको छ ।

    उक्त खण्डकाव्यमा उहाँले जन्म, मृत्यु, स्वर्ग, छोराछोरीले निर्वाह गर्नुपर्ने कर्तव्यका सम्बन्धमा आलोचनात्मक र समीक्षात्मक दृष्टिकोण राख्नुभएको छ । त्यसैले सामाजिक मूल्य, मान्यता, सामाजिक दृष्टिकोण अनि आफ्नो वैचारिक स्थापनामा गणेश मार्मिक सफल बन्नुभएको मैले पाएको छु । यो आमा खण्डकाव्य पनि कला, भाव र छन्दविधानको दृष्टिकोणले सफल कृतिको रूपमा मैले पाएको छु ।

    कविका गल्ती कमजोरी केही त फेला पारौँ भनेर मिहिन रूपले खोज्दा मात्र काव्यसँगै बग्दै जाँदा छायाँमा परेका दुई–चार सामान्य त्रुटी बाहेक काव्यभित्र कुनै दोष पाइँदैन । यो केवल स्वच्छन्दतावादी प्रभाव मात्र हो । काव्यमा परिस्कृत चेतना छ । यो काव्य काव्यलेखनमध्येको सबभन्दा सफल काव्य हो । पुस्तकको लेखनीदेखि वाह्य आवरण, भित्री व्यवस्थापनदेखि अन्त्यसम्म पुग्दा काव्य सफल बनेको छ । म उहाँलाई अब महाकाव्यतर्फको सफलताको कामना गर्दछु ।

    प्राज्ञ नर्मदेश्वरी सत्याल (यस कृतिका समीक्षक तथा भूमिकालेखक):
    यो आमा खण्डकाव्य पढेपछि पुरुषजातिमा पनि आमाप्रति यति गहिरो सम्मान र संवेदना हुँदोरहेछ भनेर गर्व लाग्यो । म आफ्नी दिवंगत आमालाई सम्झिएर भक्कान्निएँ । यही नै खण्डकाव्यको सफलता हो । प्रकृतिवन्दनाबाट शुरु भएर मातृवियोगमा गएर आमाको वर्णन टुंगिएको यस खण्डकाव्यमा सरल भाषा, गहन विचार र गहन प्रगतिशीलता पाइन्छ । सूक्ष्म कुरालाई टपक्क टिपेर सुन्दर काव्यमा सजाउने कविको कलाको म प्रशंसा गर्दछु ।

    सरलतामा गहनता अभिव्यक्त गर्नसक्नु भनेको कविमा हुनुपर्ने गुण हो जो गणेशजीमा देखिन्छ । आमा जतिसुकै दुष्ट भए पनि आखिरमा ऊभित्र सन्तानको माया हुन्छ नै । सूक्ष्म कुरालाई सरल र सुन्दरतम् ढंगले प्रस्तुत गर्नसक्ने प्रखर क्षमताका धनी कवि मार्मिकलाई कतिपय सन्तानमा देखिने गरेको आमा–बाबुप्रतिको अनुदार व्यवहार अनि आमाहरू अवैध बच्चा जन्माएर खोलामा मिल्काउने आमा मात्र दोषी हो कि उसलाई वलात्कार गर्ने पुरुष ? भन्ने कुरामा सूक्ष्म अध्ययन गरेर महाकाव्य लेख्ने जिम्मेवारी सुम्पन मन लागेको छ ।

    प्रस्तुत आमा खण्डकाव्य आकारमा सानो भएपति गुणमा रानो भएको मैले ठहर गरेकी छु । यो काव्य सफलताको उच्च विन्दुमा रहेको कृतिका रूपमा मैले लिएकी छु । तर यस्ता सक्षम र उर्वर स्रष्टाका कृतिहरूको प्रकाशन र बजारीकरण आजको समस्या भएकाले जिम्मेवार व्यक्ति तथा निकायले यसलाई सहजिकरण गर्ने उपायको खोजी गर्नुपर्ने भएको छ । नत्र प्रकाशन र बजारीकरणको समस्याले गर्दा राम्रा राम्रा सिर्जनाहरू स्रष्टाको कापीभित्र कुहिनसक्छन् । अर्को कुरा हाम्रो समाजमा सर्जकको
    सिर्जना र व्यवहारमा तादात्म्य नहुने गरेको पनि पाइन्छ ।

    यसमा मेरो अनुरोध छ– कि सिर्जना बमोजिमको व्यवहार गरौँ कि त बरु व्यवहार बमोजिमकै सिर्जना गरौँ । तर गणेश मार्मिकलाई नजिकबाट मैले चिनेको हुँदा यो समस्या उनमा छैन । यस्ता व्यक्तिको रचना पढ्न पनि मजा आउँछ । अन्त्यमा स्रष्टा गणेशजीलाई हार्दिक बधाई दिन्छु ।

    कवि कलानीधि दाहाल (कार्यक्रमका विशेष अतिथि तथा साहित्यसुधा नेपालका सल्लाहकार): 
    साहित्यसुधा नेपालको पृष्ठभूमि र यसले गर्दै आएका प्रशंसनीय कार्यको चर्चा गर्दै उहाँले भन्नुभयो– कम बोल्ने, भित्र सोच्ने र लेख्ने आजका नायक गणेश घिमिरे 'मार्मिक’ जो यही संस्थाका उपाध्यक्ष पनि हुन् उनको खण्डकाव्यको नाम सुन्दा नाक खुम्च्याउन मन लागेको थियो तर पढ्दै जाँदा उनले मलाई नै अचम्मित बनाइदिए । मेरो सोच नै परिवर्तन गराइदिए ।

    म खासगरी आमा, बाबु, देशका बारेमा स्तुतिपरक रचना मन पराउँदिन । यस्ता रचनाले एउटा सीमा कोर्छ र संकीर्णता जन्माउँछ भन्ने मेरो मान्यता छ । तर गणेशजीले खुबै बठ्याइँ गरेर यस काव्यभित्र गलत खालको मातृ यौन उछाललाई पनि विश्लेषणात्मक ढंगले समेटेका छन् । अनि गलत मनोवृत्रिका सन्तानहरूको आमाप्रतिको गलत धारणा अनि सही रूपको मातृवात्सल्यलाई पनि समेटेका छन् ।

    उनले नकारात्मक, सकारात्मक, निषेध, विधि सबै कुराको प्रयोग तार्किक ढंगले भावनात्मक र कलात्मक उचाइका साथ चर्चा गरेका छन् । मलाई उनको यो कुशलताप्रति अचम्म लागेको हो । यस किसिमको दृष्टि राखेर कृतिको सिर्जना गर्नुचाहिँ व्यक्तित्वको संकीर्णता होइन उचाइ र व्यापकता अनि चौडाइ हो । उनमा पाठकको सोच परिवर्तन गराइदिने कला निहित रहेको पाइन्छ । यो क्षमता प्रदर्शनका लागि म उनलाई सततः धन्यवाद, बधाई र शुभकामना सबै दिन्छु र यस किसिमका कृतिहरूको व्यापकता ल्याउन आग्रह पनि गर्दछु ।

    कवि मार्मिकले यस खण्डकाव्यको पहिलो सर्गमा जुन चेतनाको उत्ताल ल्याउनुभो त्यही प्रकृतिलाई आमाको रूपमा चुल्ठी पारेर महासागरको भूँवरीभित्र घुमाई दिनुभएको भए यो खण्डकाव्य महाकाव्य पनि बन्न सक्दथ्यो र तपाइँको उचाइ झनै माथि पुग्ने थियो । यसो गर्न सक्ने काव्यात्मक र कल्पनात्मक क्षमता तपाइँसँग रहेको छ । यस खण्डकाव्यभित्र अत्यन्त कलात्मक शब्दहरूलाई कवितामा अत्यन्त मिठासपूर्ण रूपमा भरेर राखिएकाले कहीँ पनि कविले अन्याय गरेको छ भन्ने लाग्दैन । सफल
    काव्यका लागि म गणेश मार्मिकलाई हार्दिक बधाई दिन्छु ।

    कवि नगाधिराज (कार्यक्रमका विशेष अतिथि तथा प्रविधि संयोजक):

    गणेश घिमिरे 'मार्मिक’को आमा खण्डकाव्य आख्यानात्मक नभएर दार्शनिकतामा प्रवेश गरेको छ । यसै पनि खण्डकाव्य वा महाकाव्यमा कथानकलाई काव्यातमकता दिनुपर्ने हुँदा लेखन निकै गाह्रो हुने र त्यसमा पनि दार्शनिकता र वैचारिकता सहितको बेजोड प्रस्तुति दिनुझनै कठिन कार्य हो जस्तो मलाई लाग्छ । काव्यात्मक लेखन आख्यानात्मक लेखनभन्दा अझै विशिष्ट हुने गर्दछ ।

    वैचारिक लेखनमा लेखक सफल त्यतिखेर मात्र हुन्छ जतिखेर पाठक लेखकको विचारमा जुर्मुराउन सक्छ । यसैगरी यस आमा काव्यभित्र मैले सुक्तिमयता प्राप्त गरेको छु । यो अर्थमा मलाई धेरै नै खुसी लागेको छ । मातृत्वको छुट्टै दर्शन हुँदो हो । यसमा विद्वान्हरूको आ–आफ्नै विश्लेषण हुनसक्ला । तर एउटा सामान्य पाठकको दृष्टिले हेर्दा प्रकृतिमाता, राष्ट्रमाता, जन्मदातृ माताहरूको चर्चा गर्दा एकातिरबाट आदर्श बोकेका माताको चित्रण गरिरहँदा अर्कातिर कुन्तीजस्ता विवादित माता अनि आफ्नी जन्मदातृ माता समेत गरी समष्टिमा माता दर्जाको वर्णन गरिरहँदा स्रष्टा स्वयम्ले मातृत्व ग्रहण गर्नुभएको देखिन्छ ।

    मातृत्व भन्ने कुरा भावना भएकोले यो पुरुषमा पनि हुनसक्छ । यस किसिमले आफू पुरुष हुँदाहुँदै पनि मातृत्व ग्रहण गरेर काव्य प्रस्तुत गर्न ठुलै सिद्घि आवस्यक पर्छ । यो सिद्घि उहाँले प्राप्त गर्नुभएको छ । नेपाली साहित्यले एउटा विशिष्ट खण्डकाव्य प्राप्त गरेको छ भन्ने अनुभूति भएको छ । हामी साहित्यकारहरू सर्जक बढी र पाठक कम हुने गरेका छौँ । म आफैँभित्र पनि पाठकचेतनाभन्दा सर्जकचेतना बढी उम्लिने गर्छ । हामी सुन्नभन्दा लेख्न हतारिन्छौँ ।

    हामीलाई व्यक्तिन हतार हुन्छ । यो हामीभित्रको समस्या हो । यसले गर्दा सचेत पाठकको संख्या घट्न जाने र सर्जक लापर्वाहीपूर्वक प्रस्तुत हुने खतरा हुन्छ । सर्जकले असल पाठक बाहिर खोज्ने होइन आफैँभित्र खोज्नुपर्छ । हामीले अरूका रचना पढ्नुपर्छ, समीक्षा गर्नुपर्छ, समालोचना र आलोचना गर्न डराउनु हुँदैन । स्रष्टा मार्मिकज्यूको यो कृति सचेत पाठकसमक्ष पुग्न सफल होस् भन्ने कामना गर्दै उहाँलाई पुनः हार्दिक बधाई दिन्छु ।

    ०००००

    २०७८, आश्विन ८ शुक्रवार०९:०६:४२

    गणेश घिमिरे ‘मार्मिक’

    प्रतिक्रिया
    सम्बन्धित समाचार