पौष ७, काठमाडौं ।
एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ। प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कोलाई कारबाही गर्दै अनौपचारिक विभाजनको सुरुआत गर्दैछन्।
ओलीले मंगलबार बिहान अहिले नौ बजे सरकारी निवास बालुवाटारमा केन्द्रीय सदस्यको बैठक बोलाएका छन्। उनले त्यही बैठकबाट पार्टीलाई जानकारी नदिई प्रधानमन्त्री हटाउन खोजेको, पार्टी एकताविपरीत कार्य गरेको भन्दै दाहाललाई कारबाही गर्ने भएका छन्। सोही बैठकले अन्य शीर्ष नेतालाई पनि कारबाही गरेर अघि बढ्ने तयारी ओली पक्षको छ।
कारबाही ककसलाई गर्ने भन्नेबारेमा राति अबेरसम्म केही बताइएको छैन। ओलीसहित ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरू सुवास नेम्वाङ, शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङलगायतका नेताहरू राति अबेरसम्म व्यस्त रहे।
उनीहरूले दाहाललाई कारबाही गरेर निर्वाचन आयोगमा जानकारी गराउने तयारी गरेको ओलीनिकट एक नेताले बताए। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
दाहाल–नेपाल समूहले पनि मंगलबार नै ओलीलाई संसदीय दलको नेताबाट हटाएर दाहाललाई संसदीय दलको नेता बनाउने जनाएको छ।
मंगलबार बिहान बस्ने संसदीय दलको बैठकले ओलीलाई हटाएर दाहाललाई दलको नेता बनाएपछि त्यसको जानकारी गराउँदै दिउँसो स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकबाट ओलीलाई कारबाही गरी हटाउने तयारी सो समूहको छ।
दुवै पक्षले पार्टी विधानलाई ‘कोट’ गरेर कारबाही गर्ने तयारी गरेका हुन्। आइतबारको स्थायी कमिटी बैठकबाट ओलीलाई कारबाही गरिएको, त्यसैको अनुमोदनका लागि मंगलबार केन्द्रीय कमिटीको बैठक बोलाइएको दाहाल पक्षले जनाएको छ।
केन्दीय कमिटी, स्थायी कमिटी सबैतिर आफ्नो समूहको बहुमत भएका कारण ओलीलाई हटाएर अर्को अध्यक्ष चयन गर्ने दाहाल–नेपाल पक्षले जनाएको छ।
नेकपाको विधानमा केन्द्रीय कमिटीलाई १९ वटा अधिकारको व्यबस्था छ। तीमध्ये अनुशासनसँग सम्बन्धित काम गर्ने दुईवटा व्यवस्था विधानमा गरिएको छ।
जसअनुसार विधानको भाग ‘ङ’ को दफा १० मा मातहत कमिटीबाट अनुशासनको कारबाहीमा परेका व्यक्ति तथा कमिटीको उजुरीमाथि आवश्यक छानबिन गरी निर्णय दिने तथा दफा ११ मा पार्टीको एकता, हित र सुरक्षामा खलल पार्ने मातहतका कुनै पनि कमिटीका निर्णयलाई बदर गर्ने, आफ्नो जिम्मेवारी पूरा नगर्ने तथा पार्टी निर्देशन पालना नगर्ने कमिटीलाई विघटन गर्ने र संगठित सदस्य तथा सदस्यलाई आवश्यक कारबाही गर्ने उल्लेख छ।
सोही अनुसार ओली पक्षले दाहाललाई र दाहाल पक्षले ओलीलाई कारबाहीको तयारी गरेका हुन्। ‘दुवै समूहले विधानको यही दफाअनुसार एकले अर्कोलाई कारबाही गर्ने तयारी गरेका छन्’, नेकपा निकट एक कानुनविद्ले भने।
विधानको दफा १८ मा केन्द्रीय कमिटीमा दुई अध्यक्षको व्यवस्था छ, त्यसमा अध्यक्षहरूको कार्यसम्पादनबारे उल्लेख छ।
दुवै अध्यक्षले राष्ट्रिय परिषद्, केन्द्रीय कमिटी, पोलिट्ब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयको बैठकको संयुक्त रूपमा वा आपसी सल्लाहमा दुईमध्ये एकले वा बैठकमा एकजना मात्र उपस्थित भएमा निजले अध्यक्षता गर्ने, पार्टीका आधिकारिक निर्देशन र पत्राचारमा दुवै अध्यक्षले वा आपसी सल्लाहमा एक अध्यक्षले हस्ताक्षर गर्ने व्यवस्था विधानमा छ।