काठमाडौं । नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको समूहगत छलफल पश्चात आज बाँकी ५ समूहले सुझाव प्रस्तुत गर्दैछन् ।
शनिवार केन्द्रीय निकाय तथा विभाग, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश गरि पाँच समूहका टोली नेताले समूहबाट आएका सुझाव प्रस्तुत गरेका छन् । त्यस्तै आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, उपत्यका विशेष प्रदेश कमिटी र सम्पर्क कमिटी र प्रवासका टोली नेताले समूहबाट आएका सुझाप, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गर्दैछन् ।
प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, वाग्मती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापा, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजिता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेगरि छनोट भएका थिए ।
टोली नेताले सुझाव प्रस्तुत गरेपछि आज राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने बताइएको छ । विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । विधान महाधिवेशन आज आइतबारसम्म चल्नेछ ।