बैंकमा तरलता अभाव कायमै

बैंकमा तरलता अभाव कायमै

२०७८, कार्तिक ११ बिहिवार

  • 1.1K
    SHARES

  • बैंकमा तरलता अभाव कायमै

    काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर वृद्धिमा गरेको कडाइको दोस्रो सातामै नबिल बैंकले तीन महिने मुद्दती निक्षेपमा ९.३६ प्रतिशत दिने घोषणा गरेको छ।

    दुई दिनअघि नबिलले आकर्षक ब्याजदर दिने घोषणा गरेपछि अन्य बैंक पनि निक्षेपको ब्याजदर वृद्धि गर्न बाध्य हुने बैंकरहरू बताउँछन्। कात्तिकको सुरुआतीसँगै केही बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा ११ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेपछि राष्ट्र बैंकले ब्याजदर घटाउन भनेको थियो। यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । 

    राष्ट्र बैंकको निर्देशनपछि ब्याजदर घटाएर एकल अंकमा झारिएको थियो। तर पुनः ब्याजदर वृद्धि गर्न थालिएपछि तरलतामा परेको चाप कायमै रहेको पुष्टि हुने बैंकर बताउँछन्।

    बैंकरहरूका अनुसार कोरोना महामारीका कारण करिब एक वर्षसम्म लगानी हुन नसकेको कर्जा अहिले आएर माग हुने क्रम निकै बढेको छ। ‘अहिले नै विभिन्न वस्तुको आयात वृद्धि तथा रेमिटेन्समा गिरावट आउँदाको असरले पनि तरलता अभाव भइरहेको छ,’ ती बैंकरले नागरिकसँग भने, ‘यस्तो अवस्थामा सरकारले पुँजीगत खर्च पनि बढाउन सकेको छैन।’

    नेपाल बैंकर्स संघका अनुसार केही महिनायता निक्षेप संकलनको तुलनामा कर्जा लगानी अधिक भइरहेको छ। संघले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार कात्तिक ५ सम्म बैंकहरूको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रूपैयाँ छ।

    त्यस्तै, सोही अवधिसम्म (कात्तिक ५) तिनै बैंकहहरूको निक्षेप ४२ खर्ब ४९ अर्ब रूपैयाँ छ। पछिल्लो एक सातामा बैंकहरूको निक्षेप उल्टै करिब २० अर्ब रूपैयाँले घटेको छ। 

    असोज मसान्तसम्म बैंकहरूको निक्षेप ४२ खर्ब ६९ अर्ब रूपैयाँ थियो। संघको पछिल्लो तथ्यांकले तरलता अभाव अझै बढ्ने अनुमान गरिएको छ।

    कोरोना महामारीअघिसम्म दसैं, तिहारपछि सुरु भएर आर्थिक वर्षको अन्त्यमा सहज हुने तरलता अभाव यसपटक अलि छिट्टै देखिएपछि सरकारी संयन्त्र गम्भीर हुनुपर्ने बैंकरहरूको भनाइ छ। यस अवधिमा रेमिटेन्स आप्रवाह पनि घट्दै गएको छ।

    २०७८, कार्तिक ११ बिहिवार०८:३६:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार