काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सैनिक कल्याणकारी कोषबीच नेपाली सेनामा कार्यरत सकल दर्जालाई सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ ।
नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माको उपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र सैनिक कल्याणकारी महानिर्देशनालयका महानिर्देशक उपरथी आनन्दकुमार अधिकारीले हस्ताक्षर गरे ।
उक्त सम्झौता भएपश्चात सैनिक सेवामा न्यूनतम १० वर्ष सेवा अवधि पूरा गरेका सकल दर्जालाई कोषको सिफारिसमा अधिकतम् २५ लाख रुपियाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले सहुलियतपूर्ण आवास कर्जा प्रवाह गर्ने छ ।
प्रतिस्पर्धाको आधारमा छनोट भएको राष्ट्रिय वाणिज्य बैंकले आधार दरमा न्यूनतम प्रिमियम लिई सोमा कोषले समेत अनुदान प्रदान गरी वार्षिक ३ दशमलव ३२ प्रतिशतमा घर खरिद वा घर निर्माण गर्न अधिकतम् १५ वर्षसम्म (थप एक वर्ष निर्माण अवधि प्रदान गर्ने गरी) को लागि सकल दर्जालाई कर्जा प्रवाह गर्नेछ ।
सम्झौता बमोजिम कोषले बैंकलाई निक्षेप समेत उपलब्ध गराउने छ । बैंकको ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ ।