पौष ९, सर्लाही ।
सर्लाहीको हरिवन नगरपालिका – १० मा रहेको चतुर्भुजेश्वर जनता माध्यमिक विद्यालय सुखेपोखरीले स्वर्णजयन्ती मनाएको छ ।
चतुर्भुजेश्वरले स्थापनाको ५० वर्ष पूरा गरेका अवसरमा आज स्वर्णजयन्ती मनाएको हो । विसं २०२७ मा स्थापना भएको चतुर्भुजेश्वरले स्वर्ण जयन्तीका अवसरमा जग्गा दाता, विद्यालयमा स्थापनाकालदेखि सेवा गर्ने शिक्षकशिक्षिका, व्यवस्थापन समितिका पदाधिकारीलगायत ४५० भन्दा धेरैलाई सम्मानसमेत गरेको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालयमा अध्ययन गरी राष्ट्रको उच्चपदस्थ पदमा पुग्न सफल पूर्वविद्यार्थी लगायतलाई सम्मान गरिएको मूल आयोजक समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तकुमार ब्लोनले बताए ।
विद्यालयको स्वर्ण जयन्तीका अवसरमा विद्यालयमा डिप बोरिङ गाडेर खानेपानीको व्यवस्था गरिएको छ । विद्यालयको स्वर्ण जयन्ती सम्पन्न गर्न करीब २० लाख खर्च अनुमान गरिएको विद्यालयका शिक्षक पुस्कर बुढाथोकीले जानकारी दिए ।
स्वर्ण जयन्ती सम्पन्न गर्न हरिवन नगरपालिकाले रु १० लाख सहयोग गरेको छ । स्थानीय शिक्षाप्रेमी जनप्रतिनिधि लगायतको उल्लेख्य सहभागितामा स्वर्ण जयन्ती सफलतापूर्वक सम्पन्न भएको शिक्षक बुढाथोकीले बताए ।
सर्लाही निर्वाचन क्षेत्र नं ३ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य डिल्ली उप्रेतीको प्रमुख आतिथ्यतामा भएको स्वर्ण जयन्ती समारोहमा संविधानसभा सदस्य नरेन्द्र साहलगायत जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।