काठमाडौं । गुणस्तरहीन सिमेन्ट उत्पादन गर्ने मारुती सिमेन्टलाई कारबाहीबाट बचाउनका लागि चलखेल शुरू भएको छ । गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट गुणस्तरहीन रहेकाले बजारमा गइसकेको सिमेन्ट उठाउन निर्देशन दिए पनि अटेर गर्दै आएको मारुती सिमेन्टलाई भित्रभित्रै जोगाउने चलेखल शुरू भएको हो ।
विभागले १५ दिनअघि कारबाहीको प्रक्रिया अगाडि बढाए पनि त्यसलाई अघि बढाउन भने आनाकानी शुरु गरेको छ । गत मंसिर १ गते विभागले १५ दिनभित्र स्पष्टीकरण दिन आदेश दिँदै मारुती सिमेन्टलाई पत्राचार गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।
गुणस्तरहीन सिमेन्ट उत्पादन गरेर उपभोक्ता ठग्दै आएको उक्त कम्पनीले अहिले पनि देशको एक नम्बरको सिमेन्ट भनेर गलत दाबी गर्दै थप भ्रम सिर्जना गर्दै आएको छ । मारुती सिमेन्ट गुणस्तरहीन रहेको प्रमाणित भएपछि विकास निर्माणको काममा प्रयोग नगर्न सरकारी निकायबाट निर्देशन भइसकेको छ ।
उपभोक्ताले समेत गुणस्तरहीन सिमेन्ट प्रयोग गर्न छोडेको मारुती सिमेन्ट विक्रेताहरू बताउँछन् । मारुती सिमेन्टले गत साउनमा उत्पादन गरेको ४३ ग्रेडको ब्याच नं. १६–२०७८ रहेको सिमेन्टको नमुना गुणस्तर विभागले भदौ १६ मा परीक्षण गरेको थियो । तर, नमुनाको परीक्षण गरेको प्रतिवेदन झण्डै तीन महिनापछि सार्वजनिक गर्दै विभागले सिमेन्ट गुणस्तरहीन भएको भन्दै बिक्री नगर्न निर्देशन दिनु शंकास्पद भएको उपभोक्ता अधिकारकर्मीहरू बताउँछन् ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विभागले कारबाही गर्न विज्ञप्ति जारी गरेको लामो समय बितिसक्दा समेत कार्यान्वयन गर्न ध्यान नदिनु शकास्पद भएको बताउँछन् । विभागले सिमेन्ट उत्पादनको तीन दिन, सात दिन र २८ दिनको नमुना परीक्षणको आधारमा मात्र गुणस्तर प्रमाणपत्र जारी गर्ने गरेको छ ।
त्यसरी परीक्षण गर्दा तीन दिनको सिमेन्टमा न्यूनतम १६ एमपीए, सात दिनको सिमेन्टमा न्यूनतम २२ एमपीए र २८ दिनको सिमेन्टमा न्यूनतम ३३ एमपीए हुनुपर्ने मापदण्ड राखेको छ ।