काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य तीन गुणाले वृद्धि हुँदा चालू आर्थिक वर्षमा मल खरिदका लागि विनियोजित रकम अपुग हुने भएको छ ।
सरकारले चालू आर्थिक वर्षमा मल खरिदका लागि १५ अर्ब रुपैयाँ छुट्याएको थियो । तर, अन्तर्राष्ट्रिय बजारमा मलको भाउ अकासिएपछि विनियोजित रकम धेरै नै अपुग हुने कृषि मन्त्रालयले जनाएको छ ।
त्यसैले मल अभाव हुन नदिन कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब ४२ करोड रुपैयाँ बजेट माग गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले अन्तर्राष्ट्रिय बजारमै मलको भाउ उच्च हुँदा विनियोजित १५ अर्ब रुपैयाँको मल खरिद गर्दा अहिले करिब २ लाख मेट्रिक टन मात्र आउने जनाए । ‘त्यसैले थप बजेट माग गरेका हौं,’ प्रवक्ता सञ्जेलले भने ।
प्रवक्ता सञ्जेलका अनुसार गत वर्ष २ सय डलरले एक टन मल आउँथ्यो । तर, अहिले मूल्य उच्च हुँदा एक टनकै १ हजार डलर पुगेको छ ।
गहुँ बालीलाई धानको जस्तो हाहाकार नै नभए पनि अभाव नै रहेको कृषि सामग्री कम्पनीका सूचना अधिकारी राजेन्द्र कार्की बताउँछन् । कृषि सामग्रीसँग मौज्दात डीएपी १५ हजार मेट्रिक टन र बाटोमा १० हजार मेट्रिक टन आउँदै गरेको भए पनि सो मलले गहुँ बालीलाई नपुग्ने कार्कीको भनाइ छ ।
विश्व बजारमै मलको हाहाकार हुँदा गहुँ, तोरी र आलुका लागि केही मात्रामा डीएपी मलको अभाव हुने देखिएको प्रवक्ता सञ्जेलको भनाइ छ ।
विश्व बजारमै मलको अभाव देखिएकाले चीनले सहज रूपमा बाहिर मल पठाउन दिएको छैन । भारतले पनि आफूलाई चाहिने भनेर बाहिर मल पठाउन दिएको छैन ।
कृषि मन्त्रालयका प्रवक्ता सञ्जेलले भने, ‘तर, पनि हामीले आउने धान बालीलाई मलको अभाव हुन नदिने प्रयास जारी राखेका छौं ।’