पौष १०, काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहको शीर्ष नेतृत्वले मदननगर बल्खु पुगेर तत्कालीन नेकपा (एमाले)का महासचिव मदनकुमार भण्डारीप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
केन्द्रीय कमिटीको बैठक बबरमहलमा सम्पन्न गरिएलगत्तैे सो समूहका अध्यक्षद्वय पुुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, पार्टी अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोरालगायत नेताले ‘जनताको बहुदलीय जनवाद’का प्रणेता भण्डारीको शालिकमा माल्यार्पण गरे ।
जननेता भण्डारीको स्मरण गर्दै अध्यक्ष नेपालले भने, “पार्टी कार्यालयका लागि जग्गा खरीद, भवन निर्माण, केन्द्रीय कार्यालय बनाउने सवालमा मेरो आफ्नो भावना जोडिएको छ ।” उनले नेकपाको मूल शक्ति आफूहरू नै भएको जिकिर गर्दै गल्ती सच्याएर सबैलाई आफूहरुको धारमा जोडिन आह्वान गरे ।
नेकपाको २०७६ माघ १५ – १९ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी नयाँ भवन बनाउने निर्णय गरेको थियो । बल्खुस्थित जग्गाको अवस्था बुझ्नका लागि प्रोग्रेसिभ इञ्जिनीयरिङ एशोसिएशनलाई जिम्मा दिइएको थियो । मदन नगरको उक्त जग्गा नौ रोपनी ११ आना तीन दाम बराबरको छ ।
विसं २०५४ मा बनेको तत्कालीन एमालेको केन्द्रीय कार्यालय रहेको उक्त भवन २०७२ साल वैशाख १२ गतेको ‘गोरखा भूकम्प’ले भत्काएको थियो । नयाँ भवनको शिलान्यास तत्कालीन एमाले अध्यक्ष खनालले गरेका थिए ।
आफैँले शिलान्यास गरेको भवन छिट्टै निर्माण हुने चरणमा रहेको जानकारी दिँदै पूर्वप्रधानमन्त्री खनालले सच्चा कम्युनिष्टहरु एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।
नेकपाका अध्यक्ष दाहालले कम्युनिष्ट एकताप्रति आफू सधैँ प्रतिबद्ध रहेको बताए । केन्द्रीय कमिटी बैठकबाट वर्तमान अवस्थामा कम्युनिष्ट एकताको आवश्यकता अझै बढेको ठहर गरिएको जानकारी दिँदै उनले सच्चा कम्युनिष्टहरुको एकता आवश्यक छ भन्ने सन्देश दिन आफूहरु मदननगर आइपुगेको प्रतिक्रिया दिए ।
पूर्वप्रधानमन्त्री दाहालले भने, “आज मात्रै हामीले हाम्रो बैठक सफलतापूर्वक सम्पन्न गरेका छौँ । फेरि पनि कम्युनिष्टको एकताको ऐतिहासिक आवश्यकताबारे प्रस्ताव पारित गरेका सन्दर्भमा बल्खुस्थित पहिलाको पार्टी कार्यालयमा कमरेड मदन भण्डारीको शालिकमा माल्यार्पण गर्ने र देशभरि फेरि पनि सच्चा कम्युनिष्टको एकता आवश्यक छ भन्ने सन्देश दिने उद्देश्यले हामी यहाँ आयौँ ।”
आफूले अध्यक्षता गरेको केन्द्रीय कमिटीको दोस्रो बैठकले सो ठाउँमा राम्रो आधुनिक र सबैखाले कम्युनिष्टको भाव झल्कने खालको राम्रो कार्यालय भवन बनाउने निर्णय गरिएको जानकारी उनले दिए । उनले प्रतिनिधिसभा विघटन अहिलेसम्म कम्युनिष्टले प्राप्त गरेका उपलब्धिविरुद्ध रहेको विचार पनि राखेका थिए ।