चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

२०७८, माघ ४ मंगलवार

  • 1.2K
    SHARES

  • चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग गरी एकको हत्या, दुई पक्राउ

    काठमाडौँ । चन्द्रागिरिमा चुच्चो हतियार प्रयोग एक जनाको हत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधाराका २५ वर्षीय रोशन रिजालको हत्यामा संलग्न रहेको भन्दै मकवानपुर थाहा नगरपालिका–१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले फलामको दाउ र कैँचीको प्रयोग गरेर रिजालको हत्या गरेको अनुसन्धानमा खुल्न आएको जानकारी दिनुभयो ।

    हत्या गरेलगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङ प्रहरीको सहयोगमा धादिङको नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएको हो ।

    घटनापछि गम्भीर घाइते भएका रिजालको सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनामा चन्द्रागिरि नगरपालिका–१ दहचोक बस्ने २२ वर्षीय नीरज मगर घाइते भएका छन् । उनको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

    घटनालगत्तै महानगरीय प्रहरी प्रभाग बलम्बु, महानगरीय प्रहरी वृत्त थानकोट र महानगरीय प्रहरी परिसर काठमाडौँको टोली अनुसन्धानमा खटिएको थियो । पक्राउ दुवै जनालाई सोमबार काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान भइरहेको छ ।

    २०७८, माघ ४ मंगलवार१०:०९:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार