पौष १३, भक्तपुर ।
गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका अध्यक्षमा वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत चयन भएका छन् ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित समितिको आइतवार पाँचौँ साधारणसभाले पुनर्जागरण साप्ताहिकका सम्पादक बस्नेतलाई सर्वसम्मतले अध्यक्षमा चयन गरेको हो ।
कार्यक्रममा समितिका कार्यवाहक सभापति श्रीकृष्ण वासुले वाटिका परिसरभित्र गणेशमान सिंहको १२ फिटको पूर्णकदको प्रतिमा, स्वागतद्वार, सुरक्षा घरलगायत भौतिक संरचनाको निर्माण सम्पन्न भइसकेको जानकारी दिए ।
वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापाका पहलमा रु २५ लाखबाट वाटिकामा विभिन्न भौतिक संरचना निर्माण गरिएको बताउँदै कावा अध्यक्ष वासुले अर्का प्रदेश सदस्य रजनी जोन्छेको संसद् विकास कोषबाट आएको रकमबाट वाटिका क्षेत्रमा प्रजातान्त्रिक योद्धाहरुको जीवनी झल्कने सङ्ग्रहालय निर्माण गरिने जानकारी दिए ।
कार्यक्रममा प्रदेश सदस्य जोन्छे र वाग्मती प्रदेशसभाका अर्का सदस्य कृष्णलाल भँडेलले नेता सिंहको योगदानलाई कसैले बिर्सन नहुने जनाउँदै वाटिकामा निर्माण हुने संरचनाले उनको योगदानलाई सधैँ जीवन्त राख्ने बताए ।
नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले प्रजातन्त्र प्राप्तिका लागि जीवन आहूति दिने देशका सबै नेताको पनि उच्च कदर गर्नुपर्नेमा जोड दिए । नवनिर्वाचित अध्यक्ष बस्नेतले सिंहको शालिक अनावरण यसै वर्ष गरिने जानकारी दिए ।