काठमाडौं । अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौं उपत्यकाभित्रको बाग्मती नदी किनारमा निर्माण गरिएको अवैध संरचना हटाउन अल्टिमेटम दिएको छ ।
सहरी विकास मन्त्रालय मातहतको समितिले शनिबार सार्वजनिक सूचना जारी गरी नदी किनाराको दुबैतर्फ गुह्येश्वरीदेखि थापाथलीसम्मको क्षेत्रमा बनेका अनधिकृत अस्थायी तथा स्थायी संरचना हटाउन तथा खाली गर्न भनेको हो ।
यसअघिको सार्वजनिक सूचनाको बेवास्ता गरेको भन्दै समितिले तीन दिनभित्र हटाउन सुरु गर्न र सात दिन अर्थात् २१ माघभित्र खाली गरिसक्न भनेको हो । सात दिनभित्र नहटाए समितिले नै संरचना भत्काउने सूचनामा उल्लेख छ।
गुहेश्वरी देखि भिमसेनगोला खण्डमा खासै समस्या नरहेपनि भिमसेनगोला देखि शान्तिनगर तिनकुने सम्मको क्षेत्रमा बढी नै समस्या देखिएको छ ।
काठमाडौं वडा नं ३१ अध्यक्ष नारायण भण्डारी र सो क्षेत्रका प्रदेश सांसद गणेश दुलालले पटक पटक प्रयास गरेपनि समस्याको समाधान निस्किसकेको छैन ।
यद्यपि विकासलाई नै मूल नारा बनाएका जनप्रतिनिधिले खोलाको केही भागमा कोरिडोर बाटो निकाल्न सफल रहे पनि टहरावासी जनताको अवरोधका कारण सबैतिर क्लियर भने हुनसकेको छैन ।
