मंगलबार छिमेकी मुलुक भारतकी वित्त मन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गरिन्। सीतारमणले लोकसभामा पेस गरेका बजेटका दुई कुराले धेरैको ध्यान तानेको छ।
बजेटमा वित्त मन्त्री सीतारणमले भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले डिजिटल मुद्रा निकाल्ने प्रस्ताव गरेकी छन् भने क्रिप्टोकरेन्सीमा गरिएको लगानीबाट हुने आम्दानीमा तीस प्रतिशत कर लाग्ने घोषणा गरेकी छन्।
सरकारले नै डिजिटल मुद्रा निकाल्ने कुरा दक्षिण एसियामै नौलो विषय हो भने क्रिप्टोकरेन्सी पछिल्लो समय संसारभरि चर्चामा रहेको विषय हो। यी दुबै कुरा आपसमा जोडिएका छन्।
नेपालमा भने क्रिप्टोकरेन्सीमा लगानी गर्नु अवैध छ।
नेपालमा अवैध भए पनि पछिल्लो समय संसारभरि क्रिप्टोकरेन्सीको लोकप्रियता बढ्दो छ। बिटक्वाइन, इथेरियम, बाइनान्स क्वाइन, रिपललगायत सयौं क्रिप्टोकरेन्सीको कारोबार भइरहेको छ। तीमध्ये सबैभन्दा लोकप्रिय बिटक्वाइनको मूल्य प्रतिक्वाइन ३८ हजार चार सय डलरभन्दा बढी छ। अर्थात् तपाईंसँग एक बिटक्वाइन छ भने त्यसको मूल्य आज ३८ हजार डलरभन्दा बढी हुन्छ।
अज्ञात व्यक्तिबाट सुरू भएको बिटक्वाइनको १४ वर्षे यात्रा
सन् २००८ मा सातोसी नाकामोतो नामका एक व्यक्ति इन्टरनेटमा बिटक्वाइनको श्वेतपत्र प्रकाशित गरे। उक्त श्वेत पत्रमा उनले बिटक्वाइनका तीन विशेषता रहेको बताएका छन्।
पहिलो, यो मुद्रा कुनै सरकार र सरकारी निकाय (नेपालमा राष्ट्र बैंक) को नियन्त्रणमा नभई प्रयोगकर्ताको नियन्त्रणमा हुन्छ। दोस्रो, यो आदान-प्रदान गर्न कुनै वित्तीय संस्था (अहिले एक देशबाट अर्को देशमा पैसा पठाउन दुबै देशका बैंकमार्फत् गर्नुपर्छ) चाहिँदैन। बीचमा तेस्रो संस्था नचाहिने भएकाले निकै छिटो र कम शुल्कमा पैसा आदान-प्रदान गर्न सकिन्छ। तेस्रो, इन्टरनेटमा भए पनि यो निकै सुरक्षित छ।
नाकामोतोले सुरूमा नै संसारभरि २ करोड १० लाख वटा बिटक्वाइन माइनिङ गर्न सकिने भनेर संख्या तोकेका थिए। पहिला नै संख्या तोकिएकाले यसको मूल्य अवमूल्यन नहुने उनको भनाइ थियो।
नाकामोतोले नै सबैभन्दा पहिला जनवरी २००९ मा पहिलो बिटक्वाइन माइनिङ गरेको ठानिन्छ। त्यो क्वाइन नै संसारको पहिलो क्रिप्टोकरेन्सी हो।
सुरूमा नाकामोतोको यो कुरा धेरैले पत्याएका थिएनन्। त्यसैले लामो समयसम्म यसको खासै चर्चा भएन। विस्तारै बिटक्वाइनको चर्चासँगै मूल्य पनि बढ्न थाल्यो। कुनै बेला त एक बिटक्वाइनको मूल्य ६८ हजार डलरसम्म पुगेको थियो।
अहिलेसम्म अमेरिका, युरोपियन युनियन, क्यानडा, अष्ट्रेलियाका सरकारले बिटक्वाइनको कारोबारलाई वैधानिकता दिएका छन्। ल्याटिन अमेरिकी मुलुक एलसाल्भाडोरका राष्ट्रपति नाइब बुकुलेले सन् २०२१ को जुनमा आफ्नो देशमा बिटक्वाइनलाई अरू मुद्राजस्तै कानुनी मान्यता दिएका थिए।
नाकामोतो नाम सुन्दा उनी कुनै जापानी नागरिक हुन् कि जस्तो लाग्छ। उनी को हुन् भन्नेचाहिँ अहिलेसम्म रहस्यकै पर्दाभित्र छ। विभिन्न समयमा विभिन्न मानिस र संस्थाले फरक-फरक मानिसलाई नाकामोतो हुन सक्ने अनुमान गरेका छन्। अहिलेसम्म कुनै पनि व्यक्तिले त्यो श्वेतपत्र जारी गर्ने आफू हो भनेर स्वीकार गरेका छैनन्। १४ वर्षसम्म नाकामोतो को हुन् भन्ने खुल्न नसकेपछि उनको मृत्यु पो भइसक्यो कि भन्ने अड्कल पनि गर्न थालिएको छ।
बिटक्वाइनको लोकप्रियता कतिसम्म छ भने हंगेरीको राजधानी बुडापेस्टमा बिटक्वाइनका समर्थकले सातोसी नाकामोतोको सालिक नै बनाएका छन्।
क्रिप्टोकरेन्सीको लोकप्रियता र स्वीकार्यता बढ्दै गएपछि अहिले धेरै व्यक्ति र संस्थाहरूले विभिन्न नामका क्रिप्टोकरेन्सी बनाइरहेका छन्। अहिले संसारभर ६ हजारभन्दा बढी क्रिप्टोकरेन्सी रहेको बताइन्छ। तीमध्ये सबैभन्दा लोकप्रिय बिटक्वाइन नै हो। विभिन्न एप्सहरूमाफर्त क्रिप्टोकरेन्सीको कारोबार भइरहेको छ। कतिपयले सेयरमा लगानी गरेजसरी भविष्यमा बढ्ने आशामा क्रिप्टोकरेन्सीमा लगानी गरेका छन्। छिमेकी भारतमा पनि क्रिप्टोकरेन्सी किनबेच गर्नु वैधानिक छ। सुरूमा आरबिआईले क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाएको थियो। मार्च २०२० मा भारतीय सर्वोच्च अदालतले उक्त प्रतिबन्ध खारेज गर्दै क्रिप्टोकरेन्सीमा लगानी गर्नु कानुनसम्मत भएको फैसला गरेको थियो।
बिटक्वाइन माइनिङका लागि उच्च क्षमताका कम्प्युटरहरू चाहिन्छन्। ती कम्प्युटरमा खर्च हुने बिजुली निकै बढी भएपछि अहिले बिटक्वाइन माइनिङले वातावरणमा पार्ने असरका बारे पनि बहस हुन थालेको छ।
निर्धारित २ करोड १० लाख बिटक्वाइनमध्ये १ करोड ९० लाख माइनिङ भइसकेका छन्।अबको केही समयपछि नै बाँकी २० लाख बिटक्वाइन माइनिङ भएपछि यसको कारोबारमात्रै हुनेछ। बिटक्वाइनबाहेक अरू क्रिप्टोकरेन्सीको माइनिङ भने जारी हुनेछ। -सेतोपाटीबाट