नेपालीलाई विदेशमै विद्युतीय राहदानी

नेपालीलाई विदेशमै विद्युतीय राहदानी

२०७८, फाल्गुण ४ बुधवार

  • 1.8K
    SHARES

  • नेपालीलाई विदेशमै विद्युतीय राहदानी

    काठमाडौँ । विदेशमा रहेका नेपालीले अब आफू रहेकै मुलुकबाट विद्युतीय राहदानी प्राप्त गर्न सक्ने भएका छन् । विभिन्न कारणले राहदानी बनाउनुपर्ने नेपालीले अनलाइनबाटै आवेदन दिन सक्ने छन् भने नेपालबाट छपाइ गरी सम्बन्धित नागरिक रहेका मुलुकमै राहदानी पठाइनेछ ।

    राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विदेशबाट ‘लाइभ इनरोलमेन्ट’ गरेर विद्युतीय राहदानी नेपालमै छापिनु देशकै लागि ऐतिहासिक सफलता रहेको बताए । 

    पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीको सङ्ख्या धेरै भएका मुलुकमा विद्युतीय राहदानी वितरणको अभियान सुरु गरिएको छ ।

    उनका अनुसार अहिलेसम्म कतार, मलेसिया, साउदी अरब, ओमान र कुवेतबाट विद्युतीय राहदानी जारी गर्ने कार्यमा सफलता प्राप्त भएको छ । उनले भने, “मङ्गलबार ओमान र कुवेतमा विद्युतीय राहदानीको लाइभ इनरोलमेन्टको उद्घाटन भएको छ । विश्वका सबै देशमा सेवा पुर्याउने प्रयासमा छौँ ।” यो समाचार आजको गोरखापत्र दैनिकले छापेको छ । 

    यसअघि गत माघ २३ गते कतारको दोहाबाट ‘लाइभ इनरोलमेन्ट’ गरी राहदानी छपाइ थालिएको छ । कतारमा सुरुको एक हप्ता सीमितका लागि राहदानी बुकिङ खुला गरिएको थियो ।

    त्यस्तै, मलेसियास्थित नेपाली दूतावासबाट गत माघ २६ गतेबाट राहदानी वितरणको प्रक्रिया थालनी भएको छ । मलेसियामा दुई लाखभन्दा बढी नेपाली नागरिक वैदेशिक रोजगारीमा छन् ।

    पहिलो दिनमै ३३ जनाको ‘लाइभ इनरोलमेन्ट’ गरिएको थियो । लागि बुकिङ गरी विद्युतीय राहदानी लिन त्यहाँ रहेका नेपाली नागरिकलाई आग्रह गरिएको छ । त्यस्तै साउदी अरबको जेद्धा र रियादबाट राहदानी वितरणको प्रक्रिया सुरु भएको छ ।

    नेपालमा जस्तै समय लिने फाराम भरेपछि आवश्यक कागजातसमेत अनलाइनमार्फत नै पठाउन सकिनेछ । विभागका अधिकृतले रुजु गरेपछि ‘लाइभ इनरोलमेन्ट’का लागि समय दिइनेछ । तोकिएको समयमा विदेशस्थित दूतावास वा नियोगको कार्यालयमा ‘लाइभ इनरोलमेन्ट’मा उपस्थित भएर विद्युतीय हस्ताक्षर, फोटो तथा औँठाछाप उपलब्ध गराउनु पर्नेछ ।

    विभागमा विवरण आएपछि विद्युतीय राहदानी छपाइ गरिन्छ र विदेशस्थित सम्बन्धित नागरिकलाई उपलब्ध गराइन्छ । विभागका महानिर्देशक अर्यालले विदेशस्थित नेपाली दूतावास एवं कूटनीतिक नियोग रहेको मुलुकमा ‘लाइभ इनरोलमेन्ट’का लागि आवश्यक उपकरणसहितका सामग्री पठाउने कार्य जारी रहेको बताए । 

    २०७८, फाल्गुण ४ बुधवार०८:२८:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार