गौतमको प्रस्तावमा काठमाडौं ३१ वडा अध्यक्षमा एमाले युवा नेता सरोज ढकाल सर्वसम्मत सिफारिस

गौतमको प्रस्तावमा काठमाडौं ३१ वडा अध्यक्षमा एमाले युवा नेता सरोज ढकाल सर्वसम्मत सिफारिस

२०७८, चैत्र ३० बुधवार

  • 5.5K
    SHARES

  • गौतमको प्रस्तावमा काठमाडौं ३१ वडा अध्यक्षमा एमाले युवा नेता सरोज ढकाल सर्वसम्मत सिफारिस

    काठमाडौं । अन्ततः लामो रस्साकस्सी पछि बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौं महानगरपालिका वडा नं ३१ ले सर्वसम्मत रुपमा उमेदवार टुंगो लगाएको छ । 

    सोमवार पार्टी वडा कमिटीको पूर्ण विस्तारित बैठकले हालका वडा सदस्य तथा युवा नेता सरोज ढकाललाई अध्यक्षको उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

    अध्यक्षको प्रतिस्पर्धामा वडा सदस्यहरु हुमादेवी आचार्य र रमेश सत्यालले दावी प्रस्तुत गरे पनि बैठकको सर्वसम्मत निर्णयले ढकालको नेतृत्वमा निर्वाचनमा जाने घोषणा गरेको हो । घोषणा हालका वडा पार्टी कमिटी अध्यक्ष यमलाल गौतमले गरेका थिए ।

    सर्वसम्मत नेतृत्व तयार गर्न केन्द्रीय नेता रुपनारायण श्रेष्ठ, प्रदेश नेताहरु गणेश प्रसाद दुलाल र नारायण प्रसाद भण्डारी, जिल्लास्तरका नेताहरु तथा क्षेत्रिय समन्वय समितिका संयोजक धन बहादुर अछामी, वडा कमिटी अध्यक्ष यमलाल गौतम र युवा नेता केपी ओलीले अथक मेहनत गरेका बताईएको छ ।   

    शुरुमा भण्डारी स्वयंले ईच्छा देखाए पनि अन्तिममा लोकप्रिय युवा नेतालाई अगाडी बढाएर पुनः लोकप्रिय मत सहित विजय हासिल गर्ने भन्दै पछाडी हटेका थिए । प्रस्तावित वडा अध्यक्षका उमेदवार ढकालले २०७४ सालको स्थानिय तहको निर्वाचनमा खसेको मत मध्ये सबैभन्दा उच्च ४४८८ लोकप्रिय मत सहित विजयी हासिल गरेका थिए । सबैको पहुँचमा रहन रुचाउने सरल स्वभावका ढकाल युवा मैत्री, समाजसेवी र आर्थिक रुपमा निश्कलंक मानिन्छन् ।

    आफु अध्यक्षमा प्रस्तावित भए पनि सबै सहकर्मीहरुलाई सम्मानका साथ उत्तिकै प्राथमिकता दिएर अगाडी बढ्ने प्रतिवद्धता ढकालले गरेका छन् । अघिल्लो कार्यकालमा पुरा हुन नसकेका कार्यलाई पूरा गर्दै थप योजना बनाएर समृद्ध, शान्त तथा प्रविधिमैत्री वडा बनाउने अठोट पनि उनको छ । 

    त्यस्तै सदस्यहरुमा रमेश सत्याल, हुमादेवी आचार्य, अप्सरा संजेल खनाल र सान्नानी मिजारको नाम सर्वसम्मतबाट सिफारिस गरिएको छ । यद्यपि एकपटक वडा सदस्यमा निर्वाचित भईसकेका र पार्टीले अन्य नेता कार्यकर्तालाई पनि अवसर दिनु पर्ने आवाज बढेकाले केही सदस्यहरु परिवर्तन हुनसक्ने नाम नबताउने सर्तमा एक काठमाडौं जिल्ला कमिटी सदस्यले बताए । 

    आचार्य, सत्याल र मिजार २०७४ सालको स्थानिय तहको निर्वाचनबाट निर्वाचित वडा सदस्य हुन् भने संजेल नवप्रवेशी हुन् । 

    २०७४ सालमा वडाका सबै पाँचै पद जितेको एमालेले वडामा गरेको विकासको लहर, सुन्दर, सुरक्षित र सभ्य बनाउन गरेको प्रयासले निर्वाचन जित्नेमा ढुक्क देखिएको छ । यहाँको विकासको नेतृत्व वडाबाट वडाध्यक्ष नारायण प्रसाद भण्डारी र वागमती प्रदेशबाट सांसद गणेश प्रसाद दुलालको विकासप्रतिको भोकका कारणले पनि जित नजिक रहेको स्थानिय राजकुमार पुडासैनीको भनाई छ । 

    उनी थप्छन्, "अरुलाई हिँड भनेर पुच्छरमै समातेर लौरी नै हानेजस्तो गर्नुपर्छ तर यी दुईले कहिल्यै थाकेको महशुस गरेको पाईएन ।"  

    भूलसूधार : समाचारको शीर्षकमा गौतमको प्रस्तावमा हुन पर्नेमा अन्यथा हुन गएकोमा क्षमायाचना सहित सच्याइएको छ । -सम्पादक

    २०७८, चैत्र ३० बुधवार०८:४८:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार