काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले घरदैलो अभियान सुरुवात गरेका छन्।
उम्मेदवारी दर्ता, उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले घरदैलो अभियान सुरु गरेका हुन्।
उम्मेदवार आफ्ना प्रतिबद्धतापत्र, प्रचारसामग्रीसहित मत माग्न मतदाताको घरदैलोमा पुग्न थालेका हुन्।
काठमाडौं जिल्ला अन्तरगतको नगरपालिका भित्र पर्ने सबैभन्दा धेरै मतदाता रहेको काठमाडौं महानगरपालिाकाको वडा नं ३१ मा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलका उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन्।

शनिवार बिहान नियमित घरदैलो अभियानको चौथो दिन एमाले उपमहासचिव प्रदिप ज्ञवालीको उपस्थितिले एमाले कार्यकर्ता एवं समर्थक उत्साहित देखिन्थे ।
वडाध्यक्षका उमेदवार सरोज ढकाल, सदस्यहरु रमेश सत्याल, हुमादेवी आचार्य, अप्सरा संजेल (खनाल) र सान्नानी मिजार सहित शंखमूलबाट अगाडि बढेको जुलुसका साथमा करिव एक घण्टा सँगै हिँडेका ज्ञवालीका अनुहारमा चियाएर हेर्दै कार्यकर्ता भने उमेदवारलाई घरको भित्रै पुर्याएर स्थानियसँग भोटमाग्न व्यस्त देखिन्थे ।
जुलुस जति अगाडि बढ्दै गयो, त्यति नै स्थानिय जनता फुल, अबिर, खादा लिएर ढोका-ढोकामा उभिनेहरुको लस्कर नै देखिन्थ्यो । अंकमाल गर्ने, फोटो खिचाउने घरको पाँचौ तला सम्मै बोलाएर तातो गर्मिमा चिसो पेय पदार्थ पिलाउने सामान्य नै लाग्दथे ।
त्यति मात्र हैन, जति पनि घरमा जुलुस पुग्थ्यो त्यति नै "सरोजजी फेरि फेरि पनि आइदिनु है भनेर स्थानियले भनिरहँदा ज्ञवालीको मुहारमा चमक सहितको मन्द मुस्कान मात्रै छचल्किएन," भने, "सहि निर्णय भएको रहेछ ।" कसैले घुँडा घुँडा सम्म हिलोमा डुबेर घर पुग्नुपर्ने बाध्यतालाई हटाएकोमा प्रशंसा गर्दथे त कसैले ढलको उचित मर्मत सम्भारमा । त्यस्तै कसैका अनावश्यक जग्गा समबन्धी किचलोमा ढकालको नेतृत्वकारी कार्यक्षमताको प्रशंसा थियो ।
नेपाली कांग्रेसको गढ प्रकाशमान सिंहको किल्ला भनेर चिनिएको निर्वाचन क्षेत्र नं १ को यस वडामा २०५४ सालको स्थानिय निर्वाचनमा एमाले वडाध्यक्षका उमेदवार हार्दा पनि ढकाल एमालेबाट निर्वाचित वडा सदस्य थिए ।
२० वर्षे जनप्रतिनिधिविहिन अवस्थालाई चिर्दै २०७४ सालमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणालीको पहिलो स्थानिय तहको निर्वाचनमा एमालेले अध्यक्ष सहित पाँचै पदमा जितेको थियो । ढकाल पार्टीका उमेदवार मध्ये सबैभन्दा बढि मत ल्याएर पुनः वडा सदस्यमा निर्वाचित भए ।
पाँच वर्षको अवधिमा एमालेले एकपछि अर्को शसक्त कार्यकर्ता उत्पादन गर्दा ढकाल भने प्रतिस्पर्धि नेताहरु हुमादेवी आचार्य, रमेश सत्याल, उज्जन श्रेष्ठ लगाएतको विश्वास जित्दै सर्वसम्मत वडाध्यक्षको उमेदवार बन्न सफल भए । ढकाल सहित आचार्य, सत्याल र मिजार यस अघिको कार्यसमितिमा निर्वाचित सदस्य हुन् ।

घरदैलोका क्रममा खुशीयाली मात्रै थिएन । केही स्थानियले जंगिँदै भनेका थिए, "१७ हजार जनता मार्ने माओवादीले देशका लागि के गरे ? कालो कांग्रेसले के गर्यो ? एमालेले के नापो ?"
जनताका प्रश्नको उत्तर दिएर वादविवाद गर्न भन्दा पनि जनतासँग वादविवाद नगरी शालिनताक साथ जनताका गुनासा सुन्न वागमति प्रदेश सांसद गणेश दुलाल, वडाध्यक्ष नारायण भण्डारीले कार्यकर्तालाई संझाईरहेका देखिन्थे ।
यस वडामा सत्ताधारी पार्टीको गठबन्धन बन्न नसकि आ-आफ्नै उमेदवार घरदैलोमा व्यस्त छन् । नेपाली कांग्रेसले प्रकाश राणा, नेकपा माओवादी केन्द्रले राजेश जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिष्णुमणि अधिकारीलाई अध्यक्षको उमेदवार बनाएका छन् ।





