काठमाडौं । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका दलहरु मतमाग्न मतदाताको घरदैलोमा व्यस्त छन् ।
मौन अवधि शुरुहुनु अगाडि मतमाग्ने समय एक हप्ता भन्दा कम रहेकाले पर्चा, प्रतिवद्धता पत्र, भिजिटिंग कार्ड लगाएतका प्रचार सामाग्री लिएर जनताका घरघरमा पुग्न उमेदवारलाई भ्याईनभ्याई छ ।
उपत्यकाको महत्वपूर्ण र संवेदनशिल वडामा गनिने चावहिल क्षेत्रका सचेत मतदाताले चनाखो आँखाका साथ आफ्नो घरआँगनमा आउने उमेदवारका बायोग्राफी नै तयार गर्ने गरेको पाइएको छ ।
बुधवार काठमाडौं महानगरपालिका वडा नं ७ मा नेकपा एमालेका अध्यक्षका उमेदवार कृष्णमणि भट्टराई, सदस्यहरु दिपेन्द्र पुडासैनी, सरस्वती कार्की, अनिता शाक्य र चनाकुमारी दर्जी सहितका नेता कार्यकर्तालाई जनताका प्रश्न सहितको स्वागत र अपार समर्थन देखिएको थियो । सयौं नेता कार्यकर्ता सहित गाजावाजाको टोली घरदैलोमा पुग्दा पुष्पगुच्छा, अविर र खादाले स्वागत मात्रै गरिएन, 'शहर फोहोर भएकामा चिन्ता पनि व्यक्त गरेका थिए ।'

काठमाडौं महानगरलाई सुन्दर नगरी बनाउने परिकल्पनाकार तथा मेयरका उमेदवार केशव स्थापितको टोलीले वैज्ञानिक प्रविधि अपनाएर फोहोर व्यवस्थापन गर्ने वाचा अध्यक्षका उमेदवार भट्टराईले गरेका थिए ।
अघिल्लो पटक चौडा -फराकिला सडक, खोला किनारबाट कोरिडोरको बाटो, आकाशे पुल, आधुनिक भवन निर्माण गर्ने श्रेय बोकेका मेयर नै हालका उमेदवार भएकाले यसपटक स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने गरि काम गर्ने वाचा पनि भट्टराईले गरेका थिए ।
मत माग्न आउने एमाले उमेदवारलाई घरका पाँचौ तलाबाट आँगन र बाटामा उभिएर थालीभरि बनाइएको अक्षता, फुल र दोसल्ला लगाउने स्थानियको भिड देखिन्थ्यो । टिका, खादा लगाएपछि आशिर्वाद दिने बृद्धबृद्धा उमेदवार सँग फोटा खिच्न तँछाडमछाड गरिरहेका देखिन्थे ।
७१ बर्षीय मनमाया गुरुंगले धेरैबेर अंकमाल गर्दै भनिन्, "कृष्णबाबु ! बृद्ध भत्ता त हराउन लाग्यो भन्छन् त बा, हामीलाई वडाको पैसाबाट भए पनि मिलाएर देऊ है ।" "चिन्ता नलिनु आमा अन्यत्र खर्चका पैसा काटेर भएपनि बा -आमाको मुहार दुखी बनाउने छैनौं," भट्टराईको जवाफ थियो ।

एमाले फुटाएर कुन कुन पार्टी बनाएका छन् अरे भन्ने सुनिन्छ । भोट माग्न पनि आउलान् तर त्यस्ताले केही फरक पर्ने छैन बाबु भन्दै ७५ वर्षीय बृद्ध गणेश प्रसाद ढकाल आएर अंकमाल गर्दा माहोल नै रोचक देखिन्थ्यो ।
अहिलेको निर्वाचनमा सर्मनाक हार भएपछि लुरुुलुरु आफ्नो घर आउँछन् नआत्तिनु भन्दै उनी जंगिँदै थिए । भट्टराई भन्थे, 'बुबा आशिर्वाद पाउँ' भन्दै अर्को घरमा दोसल्ला थाप्न पुग्दथे ।
यो क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने हो भने कृष्णमणिको बिकल्प नभएको कलाकार प्रेम खरेल बताउँछन् । सबै पार्टीलाई मिलाएर लाने समन्वयकारी नेताले नै जित्नु पर्ने पनि उनको भनाई छ ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमै अध्यक्षको दावी गरेका भट्टराई मनोनयन गर्दा सदस्यमा चित्त बुझाउँदै लोकप्रिय मत सहित विजय हासिल गरेका थिए ।
यस पटक भने शिक्षाप्रेमी युवा, समाजसेवी महिलाहरुको समूह सहित मतदातामाझ पुगेका भट्टराई अध्यक्षको रुपमा जितेर ७७ वटै जिल्लाका नागरिकलाई सुरक्षित बसोबास सहित सांस्कृतिक, शैक्षिक, स्वास्थ्य र यातायातको हबको रुपमा समृद्ध वडा बनाउने सपना बोकेको बताउँछन् ।


