परासी । नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सरावल गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार गाउँपालिका अध्यक्षमा एमालेका सुखाडीप्रसाद चौधरी विजयी भएका हुन् ।
निकटतम् प्रतिद्वन्द्वीलाई दुई हजार ९७० मतको फराकिलो अन्तरले पछि पार्दै चौधरी निर्वाचित भएका हुन् । गाउँपालिका अध्यक्षमा निर्वाचित चौधरीले सात हजार ५९ मत प्राप्त गरेका सरावल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अनिलकुमार गौडले चार हजार ८९ मत ल्याएका छन् ।
गाउँपालिका उपाध्यक्षमा पनि एमालेकै बासमती हरिजन विजय भएकी छन् । विजयी हरिजनले पाँच हजार ७४३ मत ल्याइन् भने उनकी निकटतम् प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्षसमेत रहेकी नेपाली काँग्रेसकी उत्तमा रायले पाँच हजार ३४९ मत प्राप्त गरेकी छन् । उपाध्यक्षमा हरिजनले रायलाई ३९४ मतले पछि पारिन् ।
यसअघि यस गाउँपालिकाको अध्यक्षमा तत्कालीन फोरम लोकतान्त्रिक (पछि काँग्रेसमा समाहित) र उपाध्यक्षमा काँग्रेसले जितेको थियो ।
सातवटा वडा रहेको गाउँपालिकामा दुईवटा वडामा एमाले, तीन वटामा काँग्रेस र एक–एक वडामा माओवादी केन्द्र र राप्रपाले जित हासिल गरेका छन् ।
पच्चीस हजार ९१२ मतदाता रहेको यस गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा गाउँपालिकाका विभिन्न ३२ मतदान केन्द्रबाट २१ हजार २२ मत खसेको थियो ।
जिल्लाका सात पालिकामध्ये हालसम्म मतगणना सकिएर नतिजा सार्वजनिक गरेको यो पहिलो पालिका हो । अन्य छ पालिकामा पनि मतगणना जारी छ ।