२१ वर्षीय उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित

२१ वर्षीय उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित

२०७९, जेठ ५ बिहिवार

  • 1.1K
    SHARES

  • २१ वर्षीय उम्मेदवार गाउँपालिका अध्यक्षमा निर्वाचित

    वीरगञ्ज । पर्साको कालिकामाई गाउँपालिकामा पर्सा जिल्लाका उम्मेदवारमध्ये सबैभन्दा कान्छो उम्मेदवार २१ वर्षीय वशिष्टकुमार गुप्ता गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । 

    जनता समाजवादी पार्टीबाट कालिकामाई गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार रहेका गुप्ता आफ्ना प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार अजय पटेललाई ११७ मत अन्तरले पराजित गरी निर्वाचित भएका हुन् । 

    यसैगरी कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टीबाट उपाध्यक्षकी उम्मेदवार सहानी खातुनलाई १११ मत अन्तरले पराजित गरी नेपाली काँग्रेसकी राजमतीदेवी बरैनी निर्वाचित भएका छन् । पाँचवटा वडा रहेको उक्त गाउँपालिका तीन वटा वडाध्यक्ष  जनता समाजवादी पार्टी (जसपा), एउटामा नेकपा एमाले र एउटामा काँग्रेसले जितेको छ ।

    ठोरीको अध्यक्ष र उपाध्यक्षमा एमालेका श्रेष्ठ र रेग्मी निर्वाचित
    पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा एमालेकै गोकुलीकुमारी रेग्मी निर्वाचित भएका हुन् ।   

    निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका  उम्मेदवार पदमलाल (पिएल) श्रेष्ठलाई ७२० मतान्तरले पराजित गर्दै लालबहादुर विजयी बने । लालबहादुरले चार हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले तीन हजार ३२९ मत प्राप्त गरे ।  

    यसैगरी उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामाङलाई एक हजार २१६ मतले पराजित गर्दै एमालेकी रेग्मी निर्वाचित बनिन् । रेग्मीले चार हजार २५९ मत पाउँदा तामाङले तीन हजार ४३ मत प्राप्त गरे ।   

    पटेर्वासुगौली गाउँपालिकामा काँग्रेसका चौधरी विजयी
    पर्साको पटेर्वासुगौली गाउँपालिकामा नेपाली काँग्रेसका दिनेशकुमार चौधरी थारू निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार हरिनारायण चौधरीलाई एक हजार २०० मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।  

    दिनेशले पाँच हजार १४४ मत प्राप्त गरे भने हरिनारायणले तीन हजार ९४४ मत गरे । दिनेश गत स्थानीय तहको निर्वाचनमा ८२ मतले हरिनारायणसँग पराजित भएका थिए ।  

    यसैबीच उपाध्यक्षमा भने नेपाली काँग्रेसकी ममता महतो दोहोरिएकी छन् । महतोले चार हजार ४४४ मत पाइन् भने नेकपा एमालेकी मन्तुरा देवीलाई ४३१ मत मात्र प्राप्त भयो । 
     
    पर्सागढी नगरपालिकाको नगरप्रमुखमा र उपप्रमुखमा एमाले उम्मेदवार विजयी
    पर्साको पर्सागढी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार गोकर्ण पाठक निर्वाचित भएका छन् ।   

    नेपाली काँग्रेसका उम्मेदवार लोकनारायण यादवलाई दुई हजार ८९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै पाठक निर्वाचित भएका हुन् । पाठकले छ हजार ६२४ मत गरे भने यादवलाई तीन हजार ७३३ मत प्राप्त भयो ।  

    यसैगरी नगर उपप्रमुखमा पनि नेकपा एमालेकै उम्मेदवार पूजा चौधरी निर्वाचित भइन् । पूजाले सात हजार ६१६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले तीन हजार ४३० मत प्राप्त गरिन् ।  

    धोवनी गापाको अध्यक्षमा जसपा र उपाध्यक्षमा नेका विजयी
    जिल्लाको धोवनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार महन चौहान र उपाध्यक्ष पदमामा नेपाली काँग्रेसकी उम्मेदवार मन्दुदेवी विजयी बनिन् ।  

    सम्पन्न भएको मतगणनाको अन्तिम परिणामअनुसार चौहानले नेपाली काँग्रेसका उम्मेदवार वशिष्टनारायणलाई २० मतको अन्तरले र काँग्रेसकी मन्जुले जसपाकी प्रियङ्कादेवी यादवलाई ५६६ मत अन्तरको फराकिलो अन्तरले विजयी बनिन् ।   

    चौहानले तीन हजार ९१ मत र वशिष्टनारायणले तीन हजार ७१ मत प्राप्त गरे भने उपाध्यक्षमा मञ्जु देवीले तीन हजार १४३ मत र प्रियङ्का देवीले दुई हजार ५७७ मत मत प्राप्त गरेको निर्वाचन अधिकृत कैलाश दहालले जानकारी दिइन् । 

    जिराभवानी गापामा काँग्रेसका अध्यक्ष र उपाध्यक्ष विजयी
    पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली काँग्रेसका उम्मेदवार विजय बनेका छन् । मतगणनाको अन्तिम परिणामअनुसार काँग्रेसका अनोज चौधरी अध्यक्षमा र उपाध्यक्षमा रेखा चौधरी विजयी बनिन् ।   

    नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार रामप्रीत महतोलाई एक हजार २६१ मतको फराकिलो मतान्तरले पराजित गर्दै चौधरी अध्यक्ष पदमा निर्वाचित भए । चौधरीले चार हजार ५६० मत पाए भने महतोले तीन हजार २९९ मत प्राप्त गरे ।  
     
    यसैगरी उपाध्यक्ष पदमा पनि नेपाली काँग्रेसकी चौधरीले नेकपा एमालेकी निवर्तमान उपाध्यक्ष उषादेवी थरूनीलाई एक हजार ७४५ मतको फराकिलो अन्तरले पराजित गरेको निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेले जानकारी दिए । 

    २०७९, जेठ ५ बिहिवार०७:२८:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार