दलका कार्यकर्तालाई मासु र भात, बालेनका स्वयंसेवक चाउचाउमा रात

दलका कार्यकर्तालाई मासु र भात, बालेनका स्वयंसेवक चाउचाउमा रात

२०७९, जेठ ७ शनिवार

  • 6.0K
    SHARES

  • दलका कार्यकर्तालाई मासु र भात, बालेनका स्वयंसेवक चाउचाउमा रात

    काठमाडौं । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनको देशैभर अनपेक्षित नतिजा आउने क्रम जारी छ ।

    देशका प्रधानमन्त्री शेर वहादुर देउवाको जिल्ला डडेल्धुराको गृहवडामा नेपाली कांग्रेसको लज्जास्पद पराजय होस् या शक्तिशाली प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा एमालेले भोगेको हार अथवा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावका मुखमा आचारसंहिताको धज्जी उडाउँदै आधादर्जन सांसद तथा गठबन्धन मन्त्रीका लावालस्कर सहितको चितवनमा गरिएको जुलुस । जहाँ प्रचण्ड पुत्री रेणु दाहाल मेयरकी प्रतिस्पर्धी छन् । उनलाई जसरी पनि जिताउनै पर्ने गठबन्धनको कार्यभार रहेको छ । 

    एकातिर दलका नेता आ-आफ्नै दाउपेच अगाडी सार्दै मैदानमा उत्रिएका छन् भने अर्कातिर र्यापर गाएक बालेन्द्र शाह दलका लागि एक्लै भारि बनेका देखिन्छन् । चुनाव अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई किलाका ढक तर आफुचाँहि क्विन्टलका ढक भनेर मनोवैज्ञानिक दवाव सिर्जना गरिरहँदा परिणाममा ओलीको दल कहाँ पुग्यो समिक्षा हुन बाँकी नै होला ।

    त्यस्तै, सरकार बनाउँदा ५ पार्टी सम्मिलित भएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धनै बनाएर विपक्षीलाई घेर्दा पनि ३० प्रतिशतको हाराहारी मत ल्याएर एमाले ठिंग उभिन सक्नुलाई पनि विश्लेषकले आश्चर्य नै मानेका छन् ।

    लोकतन्त्रमा सरकारमै बसेर विपक्षी नेता कार्यकर्ता तथा मतदातालाई मनोवैज्ञानिक त्रास सिर्जना गर्दै गठबन्धनले गराएको निर्वाचन र यसले सिर्जना गरेका परिणामका विषयमा भविष्यमा थप बहस, छलफल र निश्कर्ष निक्लिँदै जानेमा कुनैँ शंका छैन ।

    धरान, जनकपुर, धनगढी लगायतका पालिकामा स्वतन्त्र उमेदवार हावी भईरहँदा गठबन्धनको औचित्यता पुष्टि गर्न सहज हुने देखिन्न । अन्तरराष्ट्रिय निकायले नेपालको यस स्थानिय तहको निर्वाचनका सम्बन्धमा पक्कै पनि पटक पटक प्रश्न नउठाउला भन्न सकिन्न । 

    त्यस भन्दा पनि अर्को आश्चर्यजनक कुरा त देशकै राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा प्रत्यासी रहेका स्वतन्त्र उमेदवार बालेन्द्र शाहले हालसम्म प्राप्त गरेको मतले राष्ट्रिय पार्टीलाई सोचमग्न बनाईदिएको देखिन्छ । न कुनै संगठन नत कार्यकर्ता, मात्र परिवर्तनको तिब्र चाहना, दृढ आकांक्षा र निश्वार्थ कर्ममा विश्वास गर्ने ५० को दशकका युवाको गठजोडले मतगणना हुँदैगरेको स्थान राष्ट्रिय सभागृहको वातावरण नै रोचक बनाइदिएको छ ।

    अझ अर्को रोचक कुरा त भरखरै कलेजको पढाई शुरु गरेका १८-२० वर्षे युवाको जुझारुपन हेर्दा जो कोहि पनि आश्चर्यचकित बन्ने गरेका छन् । बालेन्द्र शाहले आफ्ना योजना बाहिर ल्याउँदा प्रभावित भएर शुरु देखि नै जोडिएका युवाले चुनावी अभियानमा स्वस्फुर्त जोडिएका युवालाई सहजिकरण तथा समन्वय गरिरहेका देखिन्छ ।

    न खानाको राम्रो प्रबन्ध छ, न खाजाको नै । न बसेर गर्ने सहज काम छ, त्यहि पनि युद्धमा होमिएको सिपाहि झैँ युवाहरु अहोरात्र खटिरहेका भेटिन्छन् । निर्वाचन परिणामले उत्साहित युवाहरु भोलिको अनुमान भने आफुहरुले गर्ने नगरेको पनि बताउँछन् ।

    वर्तमानको असल कामबाटै भविष्यको भाग्य कोर्ने भएकाले इमान्दारिताका साथ कर्तव्य निर्वाह नै आफुहरुको पहिलो शुत्र रहेको एक स्वयंसेवी अभियन्ता विवेक उप्रेती बताउँछन् । बाबुआमाबाट दैनिकरुपमा खाजा खर्च तथा गाडीभाडा वापत पाएको १ सय पचास रुपयाँ बोकेर क्याम्पस आएका युवा सो पैसाले खाजा, गाडीभाडा मात्र पुर्याउँदैनन्, अझ केही रुपयाँ त उनीहरुले बचाउने गरेका छन्, उप्रेतीले भनेका छन् । 

    यता शक्तिशाली दलका नेता कार्यकर्ता मासु र भातका साथ गणनामा बसिरहँदा आफुहरुलाई भने पार्टीका वारेमा धेरथोर अध्ययन गर्ने अवसर मिलेकामा नै गर्व लाग्ने गरेको अर्की स्वयंसेवी अभियन्ता ज्योति गैरे बताउँछिन् । रातीको समयमा बस्दा पैसा नभएर चाउचाउमै रात काट्न पनि युवा साथीहरु तयार रहेको देख्दा आफुलाई झनै उत्साहित बनाउने गरेको उनले बताइन् । 

    २०७९, जेठ ७ शनिवार०२:२४:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार