काठमाडौं । काठमाडौं महानगरपालिकाको उपप्रमूखमा सुनिता डङ्गोल निर्वाचित भएकी छन् ।
विहिवार राति सम्पन्न मत गणनाको अन्तिम मत परणाम अनुसार डङ्गोलले ६८ हजार ६१२ मत प्राप्त गरि विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत मात्र प्राप्त गर्न सके ।
नव निर्वाचित काठमाडौंकी उपप्रमुख सुनिता डङ्गोललाई लिपि क्विन भनेर पनि चिनिने गरिएको छ । सांस्कृतिक तथा सामाजिक अभियन्ताका रूपमा परिचित डङ्गोलले करिब एक दशकअघि मिस नेवाःको ताज पहिरन सफल भएकी थिइन् ।
उनी अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउने रञ्जना लिपिलाई नवीन सोचका साथ विश्वभरका नेपालीलाई सिकाउँदै आएकी एक लिपिगुरु पनि हुन् । उनले विश्वभरका नेपाली तथा विदेशीलाई भर्चुअल प्रविधिबाट लिपि र नेपाल भाषा सिकाउँदै भाषा र लिपिको संवद्र्धन र प्रवद्र्धन गर्दै आएकी छन् ।
यसअघि उनले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन् । नेपाल टेलिभिजनमा शैक्षिक कार्यक्रमसमेत सञ्चालन गर्दै उनले पछिल्लो समय कामपाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यको विज्ञका रूपमा समेत काम गरेकी थिइन् ।
उनले सडक आश्रित मानवमुक्त महाअभियानमा समेत नेतृत्वदायी भूमिका निभाएकी थिइन् । जापान, कोरिया, जर्मनीलगायत करिब एक दर्जन मुलुकहरूको भ्रमण गरी नेपालको संस्कृृतिलाई विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा प्रचार गर्दै आएकी डङ्गोल काठमाडौँ महानगरका आदिवासी हुन् ।
तीस वर्षीया डङ्गोलले आफूलाई भूगोल र भर्चुअल दुवैतर्फ उत्तिकै जानकार रहेको जनाउँदै युवाको जित र नागरिकको सहकार्यले मतदाताको मन जित्न सफल भएको बताएकी छन् ।
उनले काठमाडौँको माटो र पानीलाई राम्रोसँग चिनेकाले विकासको काममा कमी नहुने र कला संस्कृतिको संरक्षण गरी पर्यटन व्यवसायलाई प्रवद्र्धन गर्ने बताइन् । नगर साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकासँग साझेदारी गरेर काठमाडौँ उपत्यका बाहिरका स्थानीय तहलाई पनि सिकाइ हुने गरी काम गर्ने उनको भनाइ छ ।